डा केसीका माग पूरा नभए उत्पन्न हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ: कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसले डा गोविन्द केसीका माग पूरा नभए उत्पन्न हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ।

 डा केसीले उठाएका मागहरु समयमै सम्बोधन गर्न नसके भोलि उत्पन्न हुने दुष्परिणामको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए हुन्।

चिकित्सा शिक्षा सुधारको माग राखेर १९औं अनशन जुम्लाबाट सुरु गरेको भए पनि केसी हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्ज छन्। आज  अनशनको २१ दिन पुगिसक्दा पनि सरकारले वार्ता समेत गरेको छैन। 

सरकारले वार्ता समेत सुरु नगर्दा लोकतान्त्रिक आवरणभित्र कम्युनिष्टतन्त्र हावी भइरहेको प्रवक्ता शर्माले बताए।

‘लोकतान्त्रिक आवरणभित्र कम्युनिष्टतन्त्र हावी गराएर अधिनायकवादी आकांक्षा अगाडि बढेको सरकारले केसीका मागहरु सुनुवाई गर्न ढिलाइ गरिरहेको छ,’ उनले भने।

आइतबार नै कांग्रेस सभापति शेरबहादुर देउवाले डा केसीका माग पूरा गर्न सरकारलाई अपिल गरेका थिए।

देउवाले आफ्नो नेतृत्वको सरकारले डा केसीका मागहरू पूरा गर्दै ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश’ ०७४ कार्तिक २४ मा जारी गरेको भएपनि वर्तमान सरकारले त्यसलाई विस्थापित गर्नुको परिणाममा आजको स्थिति उब्जिएको बताएका थिए।

कांग्रेसले शुल्क समायोजन, अध्यादेश मार्फत ७५ प्रतिशत छात्रवृति, काठमाडौँमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले ५ मेडिकल कलेजलाई मात्रै सञ्चालनको अनुमति दिने निर्णय गरेपनि सरकारले सबै निर्णय उल्टाएको आरोप लगाएका थिए।

प्रकाशित मिति: : 2020-10-05 15:01:50

प्रतिकृया दिनुहोस्