पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाविरुद्ध स्थानीय आन्दोलित

पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनाको विरोध गर्दै स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन् । पशुपतिनाथको प्राचीनता मासिने गरी गुरुयोजना तयार गरिएको भन्दै सोमबारदेखि स्थानीयले विरोध प्रदर्शन गरेका हुन् ।

पशुपति क्षेत्रको विकासको नाउँमा परापूर्वदेखिको बस्ती नै मास्ने र स्थानीय संस्कृति तथा जात्राको विनास गर्ने गरी गुरुयोजना ल्याइएको स्थानीयको आरोप छ । पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक आशामान संगतले पशुपति क्षेत्र विकास कोषले ल्याएको गुरुयोजनाविरुद्ध आन्दोलन सुरु गरिएको बताए ।

गुरुयोजनाले स्थानीय धार्मिक, समाजिक, सांस्कृतिक सम्पदा नष्ट गर्ने भएकाले त्यसको जगेर्नाका लागि गुरुयोजना खारेज गर्न माग गर्दै आन्दोलनमा उत्रनुपरेको संगतले बताए । उनले पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रको चार किल्लाभित्र बसोबास गर्दै आएका पुरानो बस्तीलाई विस्थापीत गर्ने र जात्रा पर्वहरूको विनास गरी व्यापारीकरण गर्न लागेको बताए ।

काठमाडौं महानगरपालिका- ८ का वडा अध्यक्ष दिनेश सिंह डंगोलले पशुपति क्षेत्र विकास कोषले स्थानीय बासिन्दा र स्थानीय निकायसँग समन्वय नगरी गुरुयोजना तयार पारेकाले समस्या देखिएको बताए । उनले पनि यस क्षेत्रको धर्म, संस्कृति, जात्रा, पर्वको विनास हुने गरी गुरुयोजना ल्याएकोले विरोध गर्नुपरेको बताए ।

पशुपति क्षेत्र विकास कोषले गत साउन महिनामा सिफलसम्म बस्ती खाली गराउने प्रस्तावसहितको संशोधित गुरुयोजना मन्त्रालयमा पठाएको छ । कोषले तयार पारेको सयवर्षे गुरुयोजनाले कालान्तरमा भूवनेश्वरी मन्दिरदेखि सिफलसम्मको बस्ती हटाउने परिकल्पना गरेको छ ।

कोषले २०५२ सालमा तयार गरेको पहिलो गुरुयोजना २०५६ सालमा स्वीकृत भएको थियो भने २०५८ सालदेखि लागू भएको थियो । पुरानो योजनाको समिक्षा नगरिकन नयाँ गुरुयोजना तयार पारिएको ले पनि विरोध गर्नुपरेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति: : 2020-10-05 14:27:48

प्रतिकृया दिनुहोस्