सरकार लोकतन्त्रलाई समाप्त पार्ने षड्यन्त्रमा लाग्दैछ: सहमहामन्त्री महत

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले सरकार लोकतन्त्रलाई समाप्त पार्न लागिपरेको आरोप लगाएका छन्।

शनिबार गैरआवासीय नेपाली संघ (एनआरएनए)को युरोप स्तरीय जुम मिटिङ्गमा बोल्दै कोरोना पछि उत्पन्न परिस्थिति अनुगमन समितिका संयोजक रहेका महतले लामो सङ्घर्षपछि प्राप्त उपलब्धिको संरक्षण गर्न भन्दा सरकार लोकतन्त्र समाप्त पार्ने षड्यन्त्रमा लागिरहेको बताएका हुन्। 

उनले लोकतन्त्रको सुदृढीकरण गर्दै जनचाहना अनुसारको काम गर्न सरकारलाई आग्रह गरे। 

‘सरकारका कारण मुलुकमा अराजकता र भ्रष्टाचार मौलाउँदै गएको छ। यसका साथै कोरोना नियन्त्रणमा उदासिन छ। यस्ताे बिषम परस्थितिमा सरकारले जनचाहना अनुसारको काम गराेस् भन्ने आग्रह गर्छु,’ उनले भने। 

उनले एनआरएनएले विभिन्न बिपत्ति तथा दुःखमा मलम लगाउन महत्त्वपूर्ण भूमिका निभाउँदै आएको भन्दै उक्त कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन पनि आग्रह गरे। 

‘विदेशमा कोरोना भाइरसबाट संक्रमित भएका नेपालीलाई सरकारले बेवास्ता गरिरहेको बेला एनआरएनएले उद्दार गरेकारेको छ। आपतविपद्मा सहयोग गरेको छ। यसलाई निरन्तरता दिनुहोला,’ सहमहामन्त्री महतले भने। 

उनले एनआरएनएले निःस्वार्थ सहयोग गर्दा पनि सरकारले विदेशमा भएका नेपालीलाई उद्दार गर्दा चार्टर्ड फलाइटमार्फत मोटो रकम असुलेको भन्दै दुःख ब्यक्त गरे।

प्रकाशित मिति: : 2020-10-03 19:07:25

प्रतिकृया दिनुहोस्