डेरामा बस्नेलाई कोरोना परीक्षणका लागि दबाब नदिन कामपाकाे आग्रह

 काठमाडौं महानगरपालिकाले डेरामा बस्ने र औद्योगिक प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई कोरोना परीक्षण गर्न दबाब नदिन आग्रह गरेको छ।

महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले सूचना निकालेर महानगरभित्रका घरमा डेरा गरी बस्नेलाई घर धनी र औद्योगिक प्रतिष्ठानले श्रमिकलाई  अनिवार्य कोरोना परीक्षण गर्न दबाब दिएको गुनासो आएकाले त्यसो नगर्न अनुरोध गरेको हो। 

कोरोना भाइरसको प्रभाव देखिन कम्तीमा पाँच दिन लाग्ने र सङ्क्रमित भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका विभिन्न निजी वा स्वास्थ्य क्लिनिकबाट पीसीआर परीक्षण हुने व्यवस्थासमेत मिलाइएकाले अनावश्यक रुपमा परीक्षणको लागि दबाब नदिन महानगरपालिकाले अनुरोध गरेको हो । 

अनिवार्य परीक्षणका लागि दबाब दिनु व्यक्तिगत स्वतन्त्रता हनन् भएको उल्लेख गर्दै महानगरपालिकाले यस्ता अमानवीय क्रियाकलाप प्रचलित कानुनअनुसार दण्डनीय हुने पनि सूचनामा उल्लेख छ।

प्रकाशित मिति: : 2020-10-02 08:52:54

प्रतिकृया दिनुहोस्