सन्दीपको सफाइप्रति अधिकारकर्मी मोहना अन्सारीको आपत्ति

बलात्कार मुद्धामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएकोप्रति अधिकारकर्मी मोहना अन्सारीले आपत्ति प्रकट गरेकी छिन्। 

बुधबार जिल्ला अदालत काठमाडौँले गरेको फैसला उल्टाउँदै उच्च अदालत पाटनले लामिछानेलाई सफाइ दिएको थियो। यही फैसलाप्रति राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्यसमेत रहेकी अन्सारीले आपत्ति प्रकट गरेकी हुन्।

उनले ट्वीटरमा सेयर गरेको एक स्टाटसमा न्यायालयबाट पनि छोरीलाई बचाउनुपर्ने लेखिएको छ। जसमा भनिएको छ– ‘बलात्कारीहरूबाट मात्रै होइन, न्यायालयबाट  पनि आफ्ना छोरीहरु जोगाऔँ।'

सोही स्टाटसको अगाडि लेखिएको छ– ‘यस्तो समाज, यस्तो परिदृश्यको भागिदार बन्नुपर्ला भनेर कहिल्यै सोचिएको थिएन। यो स्तरको समाजको पतन, अदालतमा निर्लज्जताको नांङ्गो नाच!’

अन्सारी अधिवक्तासमेत हुन्। उनले सन्दीपलाई बलात्कारको अभियोग लगाउने गौशाला –२६ नामकी युवतीको तर्फबाट बहस गरेकी थिइन्। 

अन्सारीले फैसलाअघि पनि ट्विटरमा लेखेकी थिइन्, ‘धेरै सुनिएको ‘मिसक्यारिज अफ जस्टिस’ (न्यायको हत्या) अब हेर्न बाँकि छ।’

प्रकाशित मिति: : 2024-05-15 20:02:00

प्रतिकृया दिनुहोस्