मोरङको विराट शिक्षण अस्पतालमा ६ वर्षीय बालकको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।
धनुषाको जनकपुर उपमहानगरपालिका २ का बालकको बिहीबार दिउँसो ४ बजे मृत्यु भएको अस्पताल आइसोलेसनका प्रमुख चिकित्सक पुरु कोइरालाले जानकारी दिए।
उनका अनुसार मृतक बालकलााई पाँच दिनदेखि रेमडिसिभर औषधिसमेत चलाइएको थियो।
‘असोज ९ गते भर्ना गर्दा बालक ठूलो निमोनियाले पीडित थिए। उनमा भाइरल मेनेन्जाइटिस पनि थियो। उनको टाउकोमा पानी जमेर थप समस्या भएकोले बचाउन सकिएन,’ चिकित्सक कोइरालाले भने।
स्वास्थ्य अवस्था गम्भीर रहेका बालकलाई सुरुमा असोज ६ गते विराटनगरको विराटनगर अस्पतालमा भर्ना गरिएको थियो। बालकमा असोज ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यसपछि बालकलाई विराटनगर अस्पतालबाट असोज ९ गते विराट शिक्षण अस्पताल कोभिड अस्पतालको आइसीयूमा राखेर उपचार सुरु गरिएको थियो।
श्वासप्रश्वाससमेत जटिल बन्दै गएको बालकलाई गएको सातदिनदेखि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
विराट शिक्षण अस्पतालमा हालसम्म ३ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।
त्यसैगरि प्रदेश १ का विभिन्न कोभिड अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि उपचाररतमध्ये बालकसहित मृत्यु हुनेको संख्या हालसम्म ७६ पुगेको छ।