बलत्कारका घटनामा मिलापत्र गराउनेलाई कडा कारवाही गर्नू: गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा‘बादल’ले बलत्कारका घटनामा मेलमिलाप गराउने, पञ्चायतीबस्ने कार्यमा संलग्नहरुलाई पनि मतियारको रुपमा पक्राउ गरी कारवाही गर्न मातहतका निकायलाई आफुले निर्देशन दिईसकेको बताएका छन्।

बलत्कारका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएको अखिल नेपाल महिला संघ(अनेमसंघ)का प्रतिनिधिमण्डल र बझाङ जिल्लाका जनप्रतिनिधिमण्डलसँगको संयुक्त भेटमा गृहमन्त्री थापा बलत्कारजस्तो जघन्य अपराधमा मिलापत्र गराउनु ठुलो अपराध भएको टिप्पणी गरे।

उनले यस्तो मिलापत्र गराउनेहरुलाई कारवाहीको सुनिश्चितता विद्यमान कानुनले गरेको बताउँदै आवश्यकपरे थप कडा कारवाहीको प्रावधान राख्न कानुन संसोधन गरिने बताए।

उनले बलत्कारका घटना समाजका लागि लज्जाको विषय भएको भन्दै यस्ता घटना रोक्न सरकार संवेदनशिल र गम्भिर रहेको बताए। 
    
सो क्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पछिल्ला दिनमा भएका बलत्कारका घटनामा संलग्न अधिकांश आरोपीहरु प्रहरीले पकाउ गरीसकेको जानकारी दिँदै मिलाउपत्र गराउने कार्यमा संलग्नसमेतलाई कारवाही अघि बढाईएको बताए।

ज्ञापनपत्र बुझाउँदै अनेमसंघका संयोजक अमृता थापाले पछिल्ला दिनहरुमा महिला हिंसा र बलत्कारका घटना बढेको भन्दै त्यस्ता घटनामा संलग्नलाई कारवाही, पिडीतलाई उपचार, सुरक्षा र क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने माग राखे।

प्रकाशित मिति: : 2020-09-28 18:45:19

प्रतिकृया दिनुहोस्