देउवाले गरेका कामकारबाही विधान विपरीत भएको भन्दै विरोधपत्र दर्ता (पूर्ण पाठसहित)

नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडल पक्षले सभापति शेरबहादुर देउवाले गरेका कामकारबाही विधान विपरीत भएको भन्दै पार्टी कार्यालयमा विरोधपत्र दर्ता गराएको छ।

आउँदो फागुन ७–१० निर्धारित पार्टीको १४औँ महाधिवेशनलाई प्रभावित पार्न संस्थापन पक्षले मनलाग्दी ढंगले अघि बढेको निष्कर्ष निकाल्दै पौडेल पक्षका २७ जना केन्द्रीय सदस्यले सोमबार दिउसाे विरोधपत्र दर्ता गराएका हुन्।

विरोधपत्रमा नेता पौडेलसहित महामन्त्री सशांक कोइराल, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, मिनेन्द्र रिजाललगायतले हस्ताक्षर गरेका छन्।

सभापति देउवाको निर्देशमा कृतिम बखेडा झिकेर सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारालगायतका जिल्लामको समायोजन अवरुद्ध पारिएको ज्ञापन पत्रमा उल्लेख छ।

यस्तै साउन १० गतेभित्र अन्य पार्टीबाट आएकाहरुको समायोजन सक्ने निर्णय भए पनि सभापतिकै निर्देशनमा उक्त कार्य रोकिएको पौडेल पक्षको आरोप छ।

‘समायोजन प्रकृया पुरा हुन नसक्नु पछाडि केन्द्रीय नेतृत्वकै बलमा केही जिल्लामा अनावश्यक बखेडा निकाली समायोजन समयमा नगर्ने र महाधिवेशन पछाडि धकेल्ने गम्भीर षडयन्त्र भएको अनुभूति हुन थालेको छ, विरोधपत्रमा उल्लेख गरिएको छ।

विशेष गरी विरोधपत्र संस्थापन पक्षले तोकिएको समयमा महाधिवेशन नगर्ने र पछि गर्दा पनि आफू अनुकूल हुने गरी गराउन लागेको उल्लेख गरेको छ।

एकलौटी रुपमा पार्टीका विभागलाई २८ बाट ४८ पुर्‍याउनु र विधानविपरीत थपिएको कार्यकालको पनि अन्तिम समयमा आएर विभाग र शुभेच्छुक संस्थामा मनोनयन गर्नु आपत्ति जनक रहेको विरोधपत्रमा उल्लेख गरिएको छ।

कृष्णप्रसाद सिटौला पक्षलाई पनि विरोधपत्रमा हस्ताक्षर गराउने प्रयास पौडेल खेमाले गरे पनि अस्वीकार गरेको छ। सिटौला पक्षले असोज १९ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकमै असन्तुष्टि राख्नुपर्ने बताउँदै आएको छ।
 

प्रकाशित मिति: : 2020-09-28 18:02:16

प्रतिकृया दिनुहोस्