रारा जाने छोटो सडक निर्माण

खलङ्गाबजारदेखि मुगुको राराताल जाने छोटो सडक बनेपछि पर्यटकलाई यात्रा गर्न निकै सहज भएको छ। पहिले पर्यटक नाग्म, सिँजा क्षेत्र हुँदै राराताल जाने गर्दथे।

पछिल्लो समयमा खलङ्गा बजारदेखि छोटो सडक निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ। खलङ्गा बजारबाट पातारासी गाउँपालिको उर्थु, पटमारा हँुदै कनकासुन्दरीको न्याउरीघाट, चौथा, बुलबुले हुँदै राराताल जानेको लर्को लाग्ने गरेको छ।

नाग्म गमगडी सडकभन्दा यो सडक झण्डै तीन घण्टा छिटो पुगिन्छ। कर्णाली प्रदेश सरकारबाट खलङ्गा बजारबाट रारा सडकको स्तरोन्नती भएकोले यात्रा गर्न सहज हुने गरेको हो। यो समयमा दैनिक दुई तीन गाडी पर्यटक ओहोरदोहार गर्छन्। कोरोना कहरले पर्यटक घटेका छन्।

पातारासी गाउँपालिकाका जयबहादुर बुढा अहिले रारायात्राको लागि सहज भएको जानकारी दिए। उनले भने,“यो सडकबाट यात्रा गर्दा पाटनमा पर्यटकले रमाउन पाउँछन्। विभिन्न जडिबुटी, फुलसँग रमाउँछन्। यहाँका पाखापखेरामा पाल हालेर पर्यटक बस्छन्। निकै रमाइलो हुन्छ।” खलङ्गा पुगेर छोटो सडक हुँदै रारा पुगेर सिँजा हुँदै नाग्मगमगडी सडकबाट फर्कने गरेको यहाँका स्थानीयवासी बताउँछन्।

प्रकाशित मिति: : 2020-09-27 17:33:38

प्रतिकृया दिनुहोस्