विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला

लेखनाथ कोइरालालाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशक तोकिएका छन्।

ऊर्जा मन्त्री वर्षमान पुनले बाह्रौं तहका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकेको ऊर्जा मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले  जानकारी दिए।

निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यकाल सकिएसँगै कोइराला निमित्त कार्यकारी निर्देशक बनेका हुन्। नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङलाई मंगलवार प्राधिकरणका कर्मचारीहरुले बिदाई गरेका छन् ।

चार वर्षे  कार्यकाल सोमवार पुरा गरेका घिसिङलाई कर्मचारीहरुले एक कार्यक्रमको आयोजना गरी बुद्धको मूर्ति मायाको चिनो उपहार दिएका थिए । कार्यक्रममा सहभागी अधिकांश वक्ताहरुले  उनलाई  पुन : कार्यकारी निर्देशकका रूपमा प्राधिकरणमा ल्याउनुपर्ने बताएका थिए ।

 कार्यक्रममा बोल्दै उनले  प्राधिकरणको नेतृत्वमा कोही आउनु–जानु स्वभाविक प्रक्रिया भएको बताए । विसं २०५१ सालमा सातौं तहबाट  प्राधिकरणमा प्रवेश गरेका उनलाई तत्कालिन सरकारले विसं २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त गरेको थियो।

लगभग १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई रू.३४ अर्ब सञ्चित नोक्सानीबाट रू.५ अर्बको सञ्चित नाफामा लगेको भन्दै उनलाई पुन : नियुक्त गर्नुपर्ने आवाज चौतर्फी रुपमा आइरहेको छ ।

 उनलाई पुनः नियुक्ति गर्नुपर्ने आवाज विभिन्न राजनीतिक दलका नेता तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणले आवाज उठाएपनि सरकारले निर्णय लिइसकेको छैन । 

प्रकाशित मिति: : 2020-09-15 23:00:38

प्रतिकृया दिनुहोस्