उपकुलपतिसहित पदाधिकारीको राजीनामा माग्दै नेविसंघले गर्‍याे प्रदर्शन

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिवि उपकुलपतिसहित पदाधिकारीको राजीनामा माग्दै प्रदर्शन गरेका छन्।

त्रिविलाई नेपाल कम्युनिष्ट पार्टी नेकपाको ब्यारेक बनाएको, भर्ति केन्द्र बनाएको र विद्यार्थीमाथि झुटा मुद्दा लगाएको भन्दै मंगलबार  नेविसंघले उपकुलपति कार्यालय अगाडि विरोध प्रदर्शन गरेको हो। उनीहरु उपकुलपतिको राजीनामा समेत माग गरेका थिए।

‘विश्वविद्यालयका भ्रष्ट पदाधिकारीको राजीनामा मागिएको हो,’ नेविसंघ त्रिवि इकाइ सचिव योगेन्द्र रावलले भने, ‘नियम विपरीत गरिएका नियुक्ति खारेज गर्न गरिएन भने राजीनामा दिनुपर्छ।’

कोभिड १९ महामारीको समयमा विश्वविद्यालयजस्तो संस्था ६ महिनासम्म कक्षा सञ्चालन, परीक्षा व्यवस्थापन लगायतका नीति र कार्यक्रम तय गर्न असक्षम र असफल देखिएको पनि रावलको भनाइ छ।

यस्ता छन् नेविसंघका माग

१. हालका पदाधिकारी आएको १ वर्ष हुनलाग्यो, विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक एवं भौतिक सुधारको न कुनै भिजन छ न योजना र कार्यक्रम नै।

२. आफू नियुक्ति भएदेखि नै प्राज्ञिक मर्यादा र क्षमताको आधारमा होइन नेकपाका कार्यकर्तालाई नियुक्ति गरी त्रिविलाई दलीयकरणको पराकाष्ठमा पुर्‍याएको।

३. त्रिवि विभिन्न निकायमा पदाधिकारी नियुक्ति गर्दा त्रिविको नियमलाई लत्याएर मनपरी ढंगले आफ्ना कार्यकर्ता भर्ती गरी त्रिविको ऐन नियमको खिल्ली उडाएको।

४. लामो समयदेखि उच्च शिक्षाका नाममा बिश्व बैंकबाट ऋण लिँदै आएता पनि बिद्यार्थीले महँगो शुल्क तिर्नु परिरहेको तर पनि शैक्षिक क्षेत्रमा केही सुधार नदेखिँदा नदेखिँदै आमसरोकारवाला सँगको बृहत समीक्षाविना नै पुनः ऋण लग्ने तयारी भइरहेको।

५. कोभिड १९ महामारीको समयमा विश्वविद्यालयजस्तो संस्था ६ महिनासम्म कक्षा सञ्चालन, परीक्षा व्यवस्थापन लगायतका नीति र कार्यक्रम तय गर्न असक्षम र असफल देखिएको।

६. विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको पठनपाठन, परीक्षालगायतका विषयमा विद्यार्थीको हकहितमा विभिन्न मुद्दाहरु उठाउने र त्यसका लागि उपयुक्त व्यवस्थाको माग गर्ने विद्यार्थीहरुलाई झुट्ठा आरोप लगाई सार्वजनिक मुद्दा लगाइएको।

७. त्रिविको शैक्षिक प्राज्ञिक क्रियाकलाप सञ्चालन र प्रशासनिक व्यवस्थापनमा त्रिविको ऐननियम विरुद्धका कार्यहरु तत्काल खारेज गरी यस्ता क्रियाकलाप बन्द गर्न आवाज उठाउने नेविसंघ त्रिवि समिति सचिव योगेन्द्र रावल बिरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरी विश्वविद्यालयजस्तो उच्च शैक्षिक संस्थाको इतिहासमा कहिले नभएको दुर्गन्धित हर्कत गरिएको छ।

८. पदाधिकारीमा हाल देखिएको सर्वसत्तावादी सोचबाट त्रिविलाई मुक्त गरी स्वच्छ प्राज्ञिक शैक्षिक संस्थामा परिणत गर्न।

९. विश्वविद्यालयको एकाडेमिक क्यालेण्डर कायम गर्ने र गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न।

प्रकाशित मिति: : 2020-09-15 14:55:46

प्रतिकृया दिनुहोस्