सरकारले लामो दुरीका सार्वजनिक यातायात ५ असोजबाट सञ्चालन गर्ने अनुमति दिएसँगै दशैँको लागि टिकट बिक्री १५ असोजबाट खुला गर्ने तयारी गरेको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालका अनुसार दशैँलाई लक्षित गरी सरकारले लामो दुरीको सार्वजनिक सवारी चलाउने निर्णय गरेसँगै १५ असोजबाट टिकट बिक्री वितरण खुला गर्नका लागि तयारी सुरू भएको हो।
निषेधाज्ञा खुले पनि कोरोना संक्रमणदर दिन प्रतिदिन बढिरहेको अवस्थामा सरकारले दशैँका लागि गाडीको टिकट किन्ने यात्रुहरुको भिडभाड काउन्टरमा नहोस् भनेर अनलाईन टिकटको व्यवस्था गर्ने तयारीमा छ। विभागले यसअघि नै यातायात व्यवसायीहरुलाई अनलाईनबाट टिकट बिक्री वितरण गर्ने व्यवस्था गर्न आग्रह गरिसकेको थियो ।
अन्य समयको तुलनमा यो वर्षको दशैँमा सर्वसाधारण ५० प्रतिशतले कम हुने व्यवसायीहरुले आँकलन गरिरहेका छन्। यस्तो अवस्थामा विभागले संक्रमणको थप जोखिम नहोस् भनेर सार्वजनिक यात्रुबाहक सवारीको सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने व्यवस्था गरेको छ।
कमाई हुने समयमा ५० प्रतिशत मात्रै यात्रु बोक्दा व्यवसायीलाई घाटा हुने भन्दै विभागले औषत मूल्यको ५० प्रतिशतसम्म भाडा दर बढाउन सक्ने व्यवस्था गरेको छ ।
विभागका महानिर्देशक हमालले भने, ‘व्यवसायीलाई सरकारले तोकेको भाडादरमा थप ५० प्रतिशत भाडा बढाएर यात्रु ओसारपसार गर्ने छुट दिएका छौँ । अन्य समयमा दशैँमा भाडा अझै घटाउने गर्दथ्याैँ भने यसपटक व्यवसायी थप मर्कामा परेका छन् । त्यसैले भाडा बढाउन छुट दिइएको हो ।’
यता सरकारले सञ्चालनको अनुमति दिनुपूर्व नै यातायात व्यवस्थापनमा जुटेका व्यवसायीहरु भने सरकारले तोकेको मापदण्डमा नै रहेर यातायात सञ्चालन गर्ने बताउँछन् ।
अखिल नेपाल यातायात व्यवसायी संघका अध्यक्ष रामचन्द्र कार्कीले सरकारले आधामात्रै यात्रु बोकेर सवारी साधन संचालन गर्न व्यवसायी सहमत भएको बताए ।
उनले भने, ‘सरकारले सवारीको कुल क्षमताको आधामात्रै यात्रु बोक्न पाउने निणर्य गरेको छ । हामी सोही निर्णय अनुसार नै चल्छौँ । भाडा दरमा पनि सरकारले व्यवसायीलाई हेरेको छ । यो राम्रो पक्ष हो ।’
कार्कीले सरकारको मात्रै नभएर व्यवसायी र मजदुर संघहरु दुवै छलफल गरेर टिकट व्यवस्थापनका लागि आवश्यक कदमहरु चाल्ने बताए । उनले यातायात व्यवसायीहरुले १ असोजबाट सार्वजनिक यातायात सञ्चालन गर्ने या सरकारको निर्णय मान्ने भन्ने कुरामा भने अहिलेसम्म निर्णय नभइसकेको बताए ।
त्यस्तै यातायात राष्ट्रिय व्यवसायी महासंघका सचिव सरोज सिटौलाले पनि सरकारको मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गरेपनि अनलाईन टिकटको व्यवस्थामा भने अहिलेसम्म कुनै कदम नचालिएको बताए ।
हरेक वर्ष दशैँका लागि २५ लाख सर्वसाधरणले उपत्याका छोड्ने गरेका छन् । यसवर्ष भने कोरोना संक्रमण सुरूवात देखि नै उपत्यका छोड्ने बढेकोमा करिब १२ लाखको हाराहारीमा सर्वसाधारण उपत्यका बाहिरिन सक्ने व्यवसायीहरुको आँकलन छ ।