आज मन्त्रिपरिषद् बैठक बस्दै, कुलमान र वामदेवबारे निर्णय हुन सक्ने

मन्त्रिपरिषद्को नियमित बैठक आज साेमबार बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

आजको मन्त्रिपरिषद् बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति हुने बताइएको छ।  कुलमान घिसिङको पहिलो चार वर्षे कार्यकाल २९ भदौ, आइतबार सकिएकाे थियाे। र, उनलाई नै पुन नियुक्ति दिइने सम्भावना छ।  

घिसिङ आफैंले केही दिनअघि विज्ञप्ती मार्फत् प्रधानमन्त्री ओली र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनकाे नेतृत्व र योजना अनुसार आफूले काम गरेर परिणाम निकालेको बताएका थिए।

यसाे त प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच गत सोमबार बिहान भएको भेटवार्तामा घिसिङको पुनर्नियुक्तिबारे छलफल भएको स्राेतलेे बताएकाे छ।

यस्तै मन्त्री वर्षमान पुनले पहिलो चार वर्षे कार्यकालमा लोडसेडिङ अन्त्य गरेर नेपाल विद्युत प्राधिकरणलाई नाफामा लैजान नेतृत्व गरेका घिसिङलाई सार्वजनिक रूपमै निरन्तरता दिइने भनिसकेका छन्। तर, कति समयका लागि नियुक्ति गर्ने भन्ने यकिन भएको छैन।

मन्त्री निकट स्रोतका अनुसार चार वर्षका लागि फेरि प्राधिकरणको प्रमुखमा कुलमानलाई नियुक्त गर्ने कि २ वर्षका लागि भन्ने निर्णय भइसकेको छैन। 

त्यस्तै, मन्त्रिपरिषद्को भोलिको बैठकले सरकारको प्रवक्ता तोक्ने र केही मुलुकका लागि राजदूत सिफारिस गर्ने पनि तयारी भइरहेको बताइएको छ।

त्यस्तै, आजको मन्त्रिपरिषद् बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गर्ने सम्भावना रहेको छ।

गौतमको नाम सोमबारको मन्त्रिपरिषद् बैठकले सिफारिस गर्न सक्ने गौतम निकट स्रोतले बताएकाे छ।

भदौ १८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओलीले गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गर्ने तयारीमा आफू रहेको बताएका थिए।
 

प्रकाशित मिति: : 2020-09-14 13:27:10

प्रतिकृया दिनुहोस्