एमसीसी सम्झौता परिमार्जनसहित प्रतिनिधिसभाबाट पारित गर्ने नेकपाकाे निर्णय

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठकले विकास र सहयोगसम्बन्धी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता परिमार्जनसहित संघीय संसद प्रतिनिधिसभाबाट पारित गर्ने निर्णय गरेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता झलनाथ खनाल संयोजकत्वको एमसीसी अध्ययन कार्यदलले दिएको सुझावअनुसार परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेकाे प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।


अगष्ट, २०१७ मा अमेरिकास्थित एमसीसी बोर्डले नेपालको ऊर्जा तथा सडक पूर्वाधारको विकास तथा सुधारका लागि ५०० मिलियन डलर (करीब रु.५५ अर्ब) अनुदान सहयोग गर्ने स्वीकृति दिएको थियो । द्विपक्षीय विकास साझेदारबाट कुनै खास परियोजनाका लागि भित्रिन लागेको एमसीसी सबैभन्दा ठूलो परियोजना हो ।

नेपाल सरकारको १३ करोड अमेरिकी डलरमा अन्तरदेशीय विद्युत् प्रसारण लाइन र सडक मर्मत परियोजना संचालन गर्नका लागि एमसीसी सम्झौता भएको हो।

एमसीसीका नाममा अमेरिकी सरकारले दिन लागेको सहयोगको मुख्य हिस्सा काठमाडौं–हेटौंडा–बुटवल जोड्ने यही ४०० केभीको प्रसारण लाइनमा खर्च गरिन लागेको हो । 

यसले बूढीगण्डकी, त्रिशूली, कालीगण्डकी, मर्स्याङ्दी, कोशी, तामाकोशी जस्ता करिडोरमा उत्पादन हुने विद्युत्को आवतजावतमा मुख्य भूमिका खेल्छ ।

नेकपामा सम्झौताका कतिपय बुँदालाई लिएर विवाद हुँदा लामो समयदेखि एमसीसी अनुमोदनको पर्खाइमा संसदमा विचाराधीन रहेको थियो।

प्रकाशित मिति: : 2020-09-11 17:09:58

प्रतिकृया दिनुहोस्