सुन्धारास्थित केन्द्रीय कारागारमा कोभिड-१९ का कारण पाँच कैदीको मृत्यु भएको छ।
उक्त कारागारमा हालसम्म ६५ जना संक्रमित कैदीमध्ये पाँच जनाको मृत्यु भएको हो। संक्रमितका कारण मृत्यु हुने कैदी भने दीर्घ रोगी रहेको जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए।
कारागारमा कोरोना जोखिम भएपछि दीर्घरोग भएका कैदी बन्दीलाई छुट्टै राखिएको बताउदैं उनले भने, 'केन्द्रीय कारागारमा ३ हजार २ सय ५७ कैदीबन्दी छन्। जसमध्ये हालसम्म २ सय २० जनाको मात्र परीक्षण भएको छ।' लक्षण देखिएकाहरुको मात्र परीक्षण गरिएको उनको भनाइ छ।
जेलमा पर्याप्त परीक्षण नहुँदा झन् जोखिम बढेको कैदीबन्दीको गुनासो छ। उक्त कारागारको सुरक्षामा खटिएका ६० जना प्रहरीमा पनि संक्रमण पुष्टि भएको थियो। जसमध्ये अधिकांश प्रहरीले कोरोनाबाट छुटकारा पाइसकेका छन्।
देशभरीका कारागारमा कोरोना संक्रमणको जोखिम बढीरहेका कारण सर्वाेच्च अदालतले गम्भीर प्रकृतीका केही मुद्दाका कैदी बाहेकलाई २५ प्रतिशत कैद छुट दिएर छाड्न आदेश दिएको छ। तर सरकारले भने कार्यान्वायन गरेको छैन।