अत्यावश्यक कामले काठमाडौँ उपत्यकाबाट बाहिर जानपरे के गर्ने?

स्थानीय प्रशासन कार्यालयले गत ३ गतेदेखि काठमाडौँ उपत्यकाभित्र निषेधाज्ञा जारी गरेको छ। पछिल्लो समय काठमाडौँ उपत्यकाभित्र कोभिड १९ सङ्क्रमित थपिँदै गरेपछि निषेधाज्ञा जारी गरेको हो। अहिलेको अवस्थामा अनावश्यक रूपमा उपत्यका भित्रन तथा छोड्न समेत दिइएको छैन।

बिहीवारबाट निषेधाज्ञा केही खुकुलो भएता पनि अत्यावश्यक काममा पनि प्रशासनबाट जारी भएको पास लिएरमात्र काठमाडौं बाहिर जान पाइने छ।

लामो दुरीका सवारी साधन चलेका छैनन्। तर, अत्यावश्यक जस्तै दाह संस्कार, बिरामी भएमा, कुनै पनि कर्मचारीको सरुवा लगायत काममा भने जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर जिल्ला बाहिर जान पाइनेछ। 

त्यसरी जानका लागि सवारी पासको लिनुपर्ने हुन्छ। जाने व्यक्ति स्वयम् उपस्थित भएर आवश्यक देखिएको खण्डमा जिल्ला प्रशासन कार्यालय (काठमाडौँ, ललितपुर र भक्तपुर)ले सवारी पास उपलब्ध गराउने छ। 

तर आफू काठमाडौँ उपत्यका बाहिर जानुको कारणसहित आफू बसेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ। त्यसपछि जानुपर्ने ठाउँको जिल्ला प्रशासन कार्यालयले दिएको सिफारिस पत्र पेस गर्नु पर्ने छ। 

अत्यावश्यक कामबाहेक काठमाडौँ उपत्यकाभित्र आवतजावत गर्न कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए।

प्रकाशित मिति: : 2020-09-11 13:40:10

प्रतिकृया दिनुहोस्