लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको पालनपोषण र शिक्षा सुरु

बिएल संवाददाता

सिन्धुपाल्चाेक

जुगल गाउँपालिकाको लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि आजदेखि एसओएस बालग्राम काभ्रे पुगेका छन्। त्यहाँ उनीहरुको पालनपोषण, हेरचाह, स्वास्थ्य, शिक्षा लगायतका सबै सुविधा सहित बस्नेछन्। 

यससँगै अभिभावक गुमाएका बालबालिकालाई संरक्षण र शिक्षाका लागि सभामुख अग्निप्रसाद सापकोटाको पहलले सार्थकता पाएको छ। 

यहि भदौ १० गते सिन्धुपाल्चोकको बाँसखर्कमा राहतसहित पुगेका सभामुख सापकोटाले विस्थापितहरुसँगको छलफलमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि आफूले जिम्मेवारी लिने बताएका थिए।  

सभामुखको आग्रहमा एसओएस बालग्राम पनौतीका निर्देशक सुरेन्द्र अमगाईंसहितको टोली भदौ १६ जिल्लाको बाँसखर्क पुगेर वडाअध्यक्ष लामासँग समन्वय गरी बालबालिकालाई ल्याउन आवश्यक प्रक्रिया थालेका थिए। 

सबै प्रक्रिया पुरा भएपछि आज सात बालबालिकालाई पनौतीस्थित बालग्राममा ल्याइएको निर्देशक अमगाईंले जानकारी दिए।  

पहिरोमा अभिभावक गुमाएका पाँचदेखि बाह्र वर्ष उमेरका उनीहरुलाई बालग्रामका अधिकारीहरुसँग पठाइएको जुगल २ का वडाध्यक्ष प्रताप लामाले जानकारी दिए। लामाका अनुसार बालग्राम पठाइएकाहरुमा छ जना बालक र एक बालिका छन्। 

पहिरोबाट विस्थापित भएर जुगल गाउँपालिका १ बाँसखर्कमा अस्थायी बसोबास गरिरहेका उनीहरुको सरोकारवाला कार्यालयहरुबाट आवश्यक काजगपत्र तयार गरी पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको थियो।

सबैको नतिजा नेगेटिभ आएपछि बालबालिकालाई बालग्रामका निर्देशक अमगाईं, विनोदमणी भट्टराई लगायतका टोलीसँग पठाइएको अध्यक्ष लामाले बताए। 

गत साउन ३० गते विहान लिदीमा गएको भीषण पहिरोमा अभिभावक गुमाएका १२ बालबालिका मध्ये १२ वर्षमाथिका ५ बालबालिकाको शिक्षा र संरक्षणका लागि बसोबासस्थलमै संरक्षकमार्फत् सहयोग गरिने बालग्रामका निर्देशक अमगाईले जानकारी दिए। 

जुगल गाउँपालिका २ को लिदीपहिरोले ३७ घर पुरिँदा घरसँगै पुरिएर बेपत्ता भएका ३७ जनाको शव फेला परेको छ। दुईजना अझै बेपत्ता छन्। 

पहिरोले बस्ती नै जोखिममा परेपछि लिदीबासीलाई हाल बाँसखर्कमा अस्थायी बसोबासको व्यबस्था मिलाइएको छ। विस्थापितहरुको स्थायी बसोबासका लागि पहल भइरहेको छ।

प्रकाशित मिति: : 2020-09-10 22:15:06

प्रतिकृया दिनुहोस्