मन्त्रिपरिषद् बैठक स्थगित, सरकारको प्रवक्ता र कुलमानबारे भाेलि निर्णय हुने

मन्त्रिपरिषद्को बैठक स्थगित गरिएको छ। सत्तारुढ नेकपाको शुक्रबार बोलाइएको बैठकको तयारीमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त रहनुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक स्थगित भएको हो।

मन्त्रिपरिषद्को बैठक आज साँझ बोलाइएको थियो। तर, बिहान १० बजेतिर बैठक स्थगित भएको जानकारी दिइएको थियो। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक भाेलि बस्ने छ।

मन्त्रिपरिषद्को आगामी बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति हुने बताइएको छ। हालका कार्यकारी निर्देशक कुलमान घिसिङको पहिलो चार वर्षे कार्यकाल २९ भदौ, आइतबार सकिँदै छ। 

घिसिङ आफैंले केही दिनअघि विज्ञप्ती मार्फत् प्रधानमन्त्री ओली र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनकाे नेतृत्व र योजना अनुसार आफुले काम गरेर परिणाम निकालेको बताएका थिए।

यसाे त  प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच सोमबार बिहान भएको भेटवार्तामा घिसिङको पुनर्नियुक्तिबारे छलफल भएको स्राेतलेे बताएकाे छ।

यस्तै मन्त्री वर्षमान पुनले पहिलो चार वर्षे कार्यकालमा लोडसेडिङ अन्त्य गरेर नेपाल विद्युत प्राधिकरणलाई नाफामा लैजान नेतृत्व गरेका घिसिङलाई सार्वजनिक रूपमै निरन्तरता दिइने भनिसकेका छन्। तर, कति समयका लागि नियुक्ति गर्ने भन्ने यकिन भएको छैन।

मन्त्री निकट स्रोतका अनुसार चार वर्षका लागि फेरि प्राधिकरणको प्रमुखमा कुलमानलाई नियुक्त गर्ने कि २ वर्षका लागि भन्ने निर्णय भइसकेको छैन। 

त्यस्तै, मन्त्रिपरिषद्को भोलिको बैठकले सरकारको प्रवक्ता तोक्ने र केही मुलुकका लागि राजदूत सिफारिस गर्ने पनि तयारी भइरहेको बताइएको छ।

प्रकाशित मिति: : 2020-09-10 12:39:11

प्रतिकृया दिनुहोस्