शहिदको अपमान गर्नेलाई कानुनी दायरामा ल्याउन जसपाकाे माग

शहिदको अपमान गर्नेलाई कानुनको दायरामा ल्याएर कारवाही गर्न जनता समाजवादी पार्टीका नेताहरुले माग गरेका छन् ।

वीरगञ्ज महानगरपालिकास्थित नगरप्रमुख विजय सराबगीको सचिवालयमा रहेका शहिदको तस्वीर हटाएर फोहोरको डंगुरमा फालिएको थियो। 

जसपाका नेताहरुले सोही तस्वीरलाई मंगलबार शहिदको सम्मान स्वरुप  घण्टाघरमा राखेर माल्यार्पण गरेका थिए ।

तत्कालिन संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष तथा जसपाका नेता रामनरेश यादवको सभापतित्वमा आयोजित सहिद सम्मान कार्यक्रममा पार्टीका नेता सुन्दर कुर्मी, नेजामुद्धिन समानी, जिल्ला समन्वय समिती पर्साका सभापति नेक महम्मद, जिल्ला सचिब तबरेज आलम, सुखुवा प्रसौनी गाउपालीकाका अध्यक्ष प्रदिप जैसवाल, विद्यार्थी नेता सुजित गिरी लगायतले सहिदको अपमान गर्ने अधिकार कसैलाई नभएको र नगरप्रमुखको सचिवालय भित्र भएको घृणित कार्यमा सम्लग्न दोषीलाई उम्कन दिन नहुने कुरामा जोड दिए।

आफ्नो जीवन लोकतान्त्रिक आन्दोलनमा आहुती दिएका नेपाल आमाका वीर शहिदहरुको कारण आज देशमा लोकतन्त्र, गणतन्त्र र संघियता आएको र यसैको बलमा चुनाब जितेर महानगरपालीकाको नेतृत्व लिएका व्यक्तिको सचिवालयमा फोहोरको डंगुरमा शहिदको तस्वीर मिल्काएर अपमानको निन्दाका लागि खर्च गर्ने शब्द नै आफुहरुसँग नभएको नेताहरुले बताएका थिए ।

गणतन्त्र, लोकतन्त्र तथा मधेस आन्दोलनका शहिदका सपना बेचेर सत्तामा पुगेपछि उनीहरुको अपमान र तस्वीर नै फोहोरको रछानमा फाल्नेलाई कानुनको दायरामा ल्याई कारवाही नगरे पार्टीलाई नै शहिदले सराप्ने भन्दै नेताहरुले आक्रोश व्यक्त गरेका थिए ।

घण्टाघरमा सहिदहरुको सम्मान पछि उक्त तस्वीरलाई पुनः महानगरपालिकाको कार्यालयमा पुर्‍याइएको थियो । 
 

प्रकाशित मिति: : 2020-09-08 19:37:07

प्रतिकृया दिनुहोस्