दक्ष जनशक्तिको अभावमा स्वास्थ्य उपकरण प्रयोगविहीन

भौतिक पूर्वाधार तथा दक्ष जनशक्तिको अभावमा राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पतालमा चारवटा भेन्टिलेटर प्रयोगविहीन अवस्थामा थन्किएका छन् ।

भौतिक पूर्वाधार तथा उपकरण चलाउने दक्ष जनशक्ति अभावका कारण अस्पतालका आईसीयू कक्षमा प्रयोग हुने ती महँगा उपकरण (भेन्टिलेटर) प्रयोगविहीन अवस्थामा थन्किएका हुन् । 

महँगो लगानीमा भित्रिएका यस्ता उपकरण प्रयोगमा नआउँदा यसले स्वास्थ्य सेवा प्रवाहमा समेत असर पुर्‍याएको छ ।

तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको पहलमा अस्पतालमा चार थान भेन्टिलेटर उपलब्ध भएको थियो । 

ती उपकरण प्रयोगमा आउन नसक्दा बिरामी अन्य अस्पतालमा रिफर भएर उपचार लिन बाध्य छन् ।  सप्तरीमा समुदायस्तरमा नै कोरोना संक्रमित भेटिएको छ । 

कतिपय संक्रमितको उपचारका लागि भेन्टिलेटर आवश्यक पर्दा त्यसको अभावमा उनीहरूलाई विराटनगर र धरान रेफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्ड डाक्टर रञ्जित झाले बताए । 

जटिल समस्यामा पुगेका बिरामीलाई भेन्टिलेटर र आईसीयू अति आवश्यक रहे पनि त्यसको व्यवस्थापन नहुँदा अन्यत्र रेफर गर्नुपरेको उल्लेख गर्दै उनले पूर्वाधार र जनशक्तिका लागि आफूले स्थानीय, प्रदेश र सङ्घीय तीनै तहका सरकारलाई आग्रह गरिरहेको बताए । 
 
जिल्लामा कोरोना संक्रमणबाट हालसम्म ८ जनाको ज्यान गइसकेको छ । भेन्टिलेटर र आईसीयू नभएका कारण कोरोना संक्रमितलाई अन्यत्र उपचारका लागि लगिने क्रममा ढिलाइ भएका कारण पनि ज्यान जाने गरेको नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीको भनाइ छ ।

करिब १ सय ७८ शय्या भएको साई कृष्णा मेडिकल कलेजमा सञ्चालित आइसोलेसन कक्षमा भेन्टिलेटर र आईसीयू सेवा उपलब्ध नहुँदासमेत कोरोना सङ्क्रमित तथा अन्य जटिल प्रकृतिका रोगीको उपचार हुन नसकेर अकालमै ज्यानसमेत जाने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

संक्रमणसँगै अस्पतालमा बिरामीले अकालमै ज्यान गुमाउनेको संख्यासमेत बढ्दै जाँदा बिरामीको ज्यान जोगाउन अविलम्ब आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्थापन गरी भेन्टिलेटर र आईसीयू सेवा सञ्चालन गर्न स्थानीयवासीको माग छ । रासस

प्रकाशित मिति: : 2020-09-08 13:40:33

प्रतिकृया दिनुहोस्