निहीत स्वार्थ बोकेका चाकडीवाजहरुले डुबाउँछन्, उनीहरुको भर नपरौँ: नारायणकाजी श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले निहीत स्वार्थ बोकेका चाकडीवाजहरुको भर पर्न नहुने बताएका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै प्रवक्ता श्रेष्ठले त्यस्ता चाकजीवाजहरुले प्रशंसा र भजन मात्रै गाउने भन्दै आलोचनात्मक चेत भएकाहरुको मात्रै भर पर्नुपर्ने बताएका हुन्।

‘आलोचनात्मक चेत भएका साँच्चैका हितैषीहरुले आफूले ठिक नदेखेको कुरा समयमै भन्छन् र गल्ती गर्न वा पतनबाट बचाउँछन्, जबकि निहीत स्वार्थ केन्द्रित  अन्ध चाकडीवाजहरुले प्रशंसा र भजन मात्रै गाँउछन् र डुबाउँछन्। त्यसैले आलोचनात्मक चेत भएका मित्रहरुमा भर गरौँ, स्वार्थी अन्ध प्रशंसकमा होइन’, उनले फेसबुकमा लेखेका छन्।

विकेक भएकाहरुले मुर्खले जस्तो सुर्‍याँई नदेखाउने श्रेष्ठको भनाइ छ। उनले अगाडि भनेका छन्, ‘विचारसहितको विवेक भएकाहरु मुर्खले जस्तो सुर्‍याँई नदेखाउन सक्छन् र निर्णय एवं कार्य गर्नुअघि संशयकारी जस्ता देखिन सक्छन्। तर विचारसहितका विवेकीहरु नै सुरा मुर्खहरुभन्दा भरपर्न लायक हुन्छन्।’‬

उनले लोकतान्त्रिक पद्धतिमा विचार सुन्ने र छलफल गर्ने धैर्यता चाहिने बताएका छन्।

‘‪लोकतान्त्रिक पद्धति अन्तर्गत कार्य गर्दा केही प्रकृयागत ढिलाई हुन सक्छ। विचार सुन्ने सहिष्णुता र छलफल गर्ने धैर्यता चाहिन्छ लोकतन्त्रमा। निरङ्कुश तानाशाहीतन्त्र छलफलको  ‘झञ्झट’बाट मुक्त र छिटो काम हुने व्यवस्था लाग्न सक्छ। तर लोकतन्त्र नै उत्तम हुन्छ,निरङ्कुशतन्त्र होइन’, श्रेष्ठको भनाइ छ। ‬

प्रवक्ता श्रेष्ठ पछिल्लो समय नेकपाभित्रको जारी शक्ति संघर्ष र प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

प्रकाशित मिति: : 2020-09-07 15:09:32

प्रतिकृया दिनुहोस्