नेकपाले भदौ २६ गते बोलायो स्थायी कमिटी बैठक

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टीको स्थायी कमिटी बैठक आगामी भदौ २६ गते बोलाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवम् नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् दिएको जानकारीमा ”साउन १३ गते स्थगित स्थायी कमिटीको बैठक भदौ २६ गते बोलाउने सहमति भएको” उल्लेख छ ।

आज (सोमबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल बिच भएको छलफलमा यस्तो निर्णय भएको हो । छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।

गत असार १० गतेबाट शुरु भएको स्थायी कमिटी बैठक पटकपटक स्थगित हुँदै आएकोमा पछिल्लोपटक १३ साउनमा स्थगित भएको थियो । बैठकले विभिन्न ७ एजेण्डाहरु तय गरेको थियो ।

प्रकाशित मिति: : 2020-09-07 12:30:54

प्रतिकृया दिनुहोस्