वीरलाई कोभिड अस्पताल बनाउने तयारी

सरकारले वीरलाई कोभिड—१९ बिशेष अस्पतालकाे रुपमा सञ्चालन गर्ने भएकाे छ। 

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री भानुभक्त ढकालसहित मन्त्रालयका उच्च अधिकारी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति, वीर अस्पतालका निर्देशकसहितको बैठकले वीरलाई कोभिड अस्पताल बनाउने टुंगो लगाएको हो।

नेपालकै पुरानो वीर अस्पताल देशभरमा धेरै बिरामीको उपचार गर्ने अस्पतालमा पर्छ। कम खर्चमा सबैजसो रोगको उपचार हुने भएकाले सर्वसाधारणको चाप यहाँ बढी छ। 

तर, कोभिड—१९ का कारण वीरमा आउने बिरामीको संख्या कम भएको हुँदा त्यहाँ आउने बिरामीलाई राष्ट्रिय ट्रमा सेन्टरको एउटा तलाबाट सेवा दिने व्यवस्था मिलाउन लागेको अस्पतालका निर्देशक डा केदार सेन्चुरीले बताए। 

वीर अस्पतालका डाक्टर र नर्ससहित ७१ जनामा काेराेना संक्रमण देखिएछि बुधबार र बिहीबारका लागि ओपीडी सेवा बन्द गरिएकाे छ। 

७१ जनामा संक्रमण नै पुष्टि भएको र ७५ जना क्वारेन्टाइनमा बस्नु परेकाले सेवा प्रभावित भएको छ। 

त्यसमा पनि ल्याब, फार्मेसी, आकस्मिक कक्ष र वार्डमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा संक्रमण देखिएकाले सेवा नै बन्द गर्नु परेको छ। 

वीर अस्पतालमा १६ सय जना डाक्टर, रेजिडेन्ट डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत छन्। 

कोरोना संक्रमणकै कारण जनशक्ति अभाव हुँदा वीरमा अहिले चारवटा वार्ड सञ्चालनमा छैनन्। ल्याबका ६ कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि ल्याब सेवा बन्द छ। कार्डियोलोजी (मुटुरोग विभाग) खुला छैन। सोमबार न्यूरो र क्यान्सर वार्डका बिरामीमा पनि कोरोना पुष्टि भएपछि ती वार्ड पनि बन्द भएका छन्। फार्मेसीका कर्मचारीलाई पनि संक्रमण देखिएपछि त्यो समेत बन्द छ। अस्पताल भर्ना भएका बिरामीलाई औषधि किन्न बाहिरै जानुपर्ने अवस्था छ।

वीरमा १२ सय २८ जना डाक्टर, स्वास्थकर्मी र कर्मचारीको दरबन्दी छ भने बाँकी रेजिडेण्ट डाक्टर कार्यरत रहेको छन्।

प्रकाशित मिति: : 2020-09-03 15:27:37

प्रतिकृया दिनुहोस्