खमेर रुज जेलका कमान्डर ‘कामरेड डच’ को मृत्यु

कम्बोडियाको भूतपूर्व खमेर रुज शासकनकालमा कमान्डर रहेका ‘कामरेड डच’ को मृत्यु भएको छ। 

स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि उनलाई कम्बोडियाको राजधानी नोमपेन्हस्थित एउटा अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममै बुधबार बिहान मृत्यु भएको गार्डियनले उल्लेख गरेको छ।

कम्बोडियामा खमेर रुज समूहले सत्ता चलाएका बेला ‘कामरेड डच’ कुख्यात ‘तुओल स्लेङ’ जेलका जेलर रहेका थिए। जहाँ कम्तीमा १४ हजार कम्बोडियाली नागरिकको नरसंहार भएको थियो।

‘कामरेड डच’ का नामले चिनिएका ७७ वर्षीय केइङ ग्युक इएभलाई संयुक्त राष्ट्र संघ समर्थित आम नरसंहार न्यायालयले आजीवन कारावासको सजाय सुनाएको थियो। 

सन् १९७५ देखि १९७९ सम्म पोलपोटको नेतृत्वमा उग्र साम्यवादी खमेर रुज सत्ताले करिब १७ लाख मानिसको हत्या गरेको थियो। यो संख्या त्यतिबेलाको कम्बोडियाको जनसंख्याको एक चौथाई हो। पोलपोट नेतृत्वको सत्ताले कम्बोडियालाई मध्ययुगीन समयमा धकेलेको बताइन्छ। सन् १९७९ मा भियतनामी सेनाले खमेर रुज सत्तालाई अपदस्थ गरेको थियो।

‘कामरेड डच’ खमेर रुज शासनकालनमा गरिएको अत्याचार र मानवताविरोधी अपराधमा दोषी ठहर हुने पहिलो व्यक्ति भएको गार्डियनले उल्लेख गरेको छ। अहिलेसम्म खमेर रुज सत्तामा रहेका तीन जनालाई मात्र सजाय सुनाइएको छ। कामरेड डच, पोलपोटपछि दोस्रो स्थानमा रहेका खिउ साम्फान र नुओन चीलाई जेल चलान गरिएको थियो।

एस–२१ नामले समेत चिनिएको तुओल स्लेङ जेलमा महिला, पुरुष र बालबालिका गरी कम्तीमा १४ हजार मानिसको हत्या गरिएको थियो। 

विद्यालयलाई नै जेलमा परिणत गरिएको थियो जहाँ धेरैलाई तड्पाएर, कसैलाई अपराध स्वीकार गर्न बाध्य पारेर मारिएको थियो। तीमध्ये धेरै खमेर रुज शासनको विरोध गर्ने बौद्धिक व्यक्ति र विभिन्न पेसामा आबद्धहरु थिए। 

‘कमान्डर डच’ कै रेखदेखमा नरसंहार भएको र सन् १९४९ को जेनेभा सन्धिको उल्लंघन गरेको भन्दै उनलाई अदालतले सन् २०१० मा दोषी ठहर गरेको थियो। सन् २०१० मा उनको पुनरावदेन खारेज भएसँगै कारागार चलान गरिएको थियो। 

प्रकाशित मिति: : 2020-09-02 13:56:53

प्रतिकृया दिनुहोस्