मोरङमा निषेधाज्ञा भदौ २२ सम्म लम्ब्याइयो, निजी सवारीसाधन जोरविजोर प्रणालीमा चलाउन पाइने

जोर बिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न पाउने गरी मोरङमा जारी निषेधाज्ञाको समय भदौ २२ गतेसम्मका लागि लम्बाउने निर्णय भएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलबार सम्पन्न जिल्ला सुरक्षा समितिको बैठकपछि निषेधाज्ञालाई केही परिमार्जन गरी २२ गतेसम्म बढाउने निर्णय गरिएको हो।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार यस अवधिमा जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइएको छ।

यसअघि सवारी सञ्चालनमा रोक लगाइएको थियो। भदौ १० गते जारी गरिएको निषेधाज्ञाको समय मंगलबार राति १२ बजेबाट सकिने क्रममा प्रशासनले निजी सवारी बाहेक सार्वजनिक सवारीलाई रोक नै लगाएको छ।

त्यसैगरि १२ बजे दिउँसोसम्म अत्यावश्यक सामाग्रीका पसल खुला गरेको प्रशासनले २२ गतेसम्मका लागि बजार तथा पसल ४ बजे अपराह्नसम्म खोल्न सकिने निर्णय गरेको छ। यद्यपि शनिबार भने अत्यावश्यक बाहेकका पसल सञ्चालनमा रोक लगाइएको जिल्ला प्रमुख निरौलाले जानकारी दिए।

निषेधाज्ञाका क्रममा सैलुन, ब्यूटीपार्लर, गुद्रीबजार, हाटबजार भने खोल्न नपाइने निर्णय यथावत रहेको छ। त्यसैगरि सामूहिक भेला, महोत्सव, जात्रा जस्ता गतिविधि गर्न रोक लगाइएको छ।

प्रजिअ निरौलाले सरकारी कार्यालयले आलोपालो गरी न्युनतम् संख्यामा कर्मचारी राखेर भदौ २१ गतेबाट तालिका अनुसार सेवा प्रवाह गर्न सक्ने जानकारी दिए। त्यसैगरि, बैठकले जिल्लाभर राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुल गर्न लगाएको प्रतिबन्धमा कुनै फेरबदल गरेको छैन।

प्रकाशित मिति: : 2020-09-01 18:55:16

प्रतिकृया दिनुहोस्