अमेरिकामा फेरि भड्कियो हिंसा, पोर्टल्याण्ड र सिकागोमा दुई जनाको हत्या

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकामा फेरि हिंसा भड्किएको छ। अश्वेतविरूद्ध राज्यबाट भइरहेको दमनको विरोधमा गत शनिबार र आइतबार तीनवटा राज्यमा विरोध प्रदर्शन भएको थियो। 

यी राज्यमा प्रहरीले प्रदर्शनकारीमाथि गोली हान्दा ११ जनालाई लागेको थियो भने यसमा दुई जनाको ज्यान गइसकेको छ। 

प्रहरीले ओरेगन राज्यको पोर्टल्याण्डमा प्रदर्शनकारी माथि गोली प्रहार गर्दा एक अश्वेतको ज्यान गएको थियो। यहाँ ट्रम्प समर्थक र प्रदर्शनकारीबीच पहिले झगडा भएको थियो। जसमा एक व्यक्तिको निधन भएको थियो। निधन भएका व्यक्ति ट्रम्प समर्थक ‘राइट विङ’ को सदस्य भएको बताइएको छ। 

यस्तै,, अर्को घटना मिसौरी र सिकागो सहरमा पनि भएको थियो। गत मे २५ मा अश्वेत नागरिक जर्ज फ्लोयडको हिरासतमै एक प्रहरी अधिकारीले घुँडाले घाँटीमा टेकेर मारेपछि अमेरिकामा ‘कालाजातिको जीवनको पनि केही मूूल्य छ’ भन्ने नारासहित प्रदर्शन भइरहेको छ। पोर्टल्याण्डमा प्रहरीले शान्त तरिकाले भइरहेको प्रदर्शनमा हस्तक्षेंप गरेपछि हिंसात्मक रूप लिएको हो।

शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरू करिब ६ सय गाडीमा चुनावी र्यालीको आयोजना गर्न बाटोमा निस्किएपछि प्रदर्शनकारीसँग धेरै ठाउँमा झड्प भएको थियो। यही क्रममा आइतबार राती गोली लागेर एक जनाको निधन भएको थियो। यो घटनाको एउटा भिडियो सार्वजनिक भएको छ। 

विदेशी न्युज एजेन्सी सीएनएनको रिपोर्टअनुसार अहिलेसम्म मर्नेको सनाखत हुन सकेको छैन। पोर्टल्याण्डमा गोली हानिएपछि राष्ट्रपति ट्रम्पले हिंसा भड्काउन खोजेको आरोप विपक्षीले लगाएका छन्। ट्रम्पले पनि डमोक्र्याटिक पार्र्टीका मेयर टेड व्हीलरलाई अराजक तत्व र लुटेरालाई सहयोग गरेको आरोप लगाएका छन्। 

उनले मेयरले स्थितिलाई नियन्त्रणमा लिन सक्दैनन् भने आफूले सहरको सुरक्षा गर्ने बताएका छन्। ट्रम्पको यो भनाई बाहिरिएलगत्तै व्हीलरले पनि ट्रम्पमाथि हिंसा भड्काउन लागेको आरोप  लगाए। उनले भने, ‘अमेरिकीहरू तपाई चुप लागेर बसेको हेर्न चाहन्छन्।’

यस्तै, मिसौरी राज्यको कंसास सहरमा आइतबार एउटा नाइट क्लबमा गोली हानाहान भएको थियो। यो घटनामा चार जनालाई गोली लागेको थियो। सिटी प्रहरी प्रवक्ताका अनुसार नाइन अल्ट्रा लाउन्जमा राती अढाई बजे गोली हानाहान भएको हो। यस्तो घटना गत जनवरीमा पनि भएको थियो। त्यति बेला पनि एक जनाको निधन तथा १५ घाइते भएका थिए। 

सिकागोमा पनि आइतबार रेस्टुरान्टमा गोली हानाहान हुँदा एक जनाको निधन हुनुका साथै पाँच जना घाइते भएका थिए। सिकागो प्रहरीले वेस्टर्न अवेमा यो घटना भएको बताएको छ। गोली लागेको तीन जनाको अवस्था गम्भीर बताइएको छ।

प्रकाशित मिति: : 2020-08-31 14:58:30

प्रतिकृया दिनुहोस्