सरकारले लक्षण देखिएका संक्रमितलाई मात्रै अस्पताल भर्ना गर्ने, ६ हजार आइसोलेसन केन्द्र बन्दै

 सरकारले अबदेखि लक्षण भएका कोरोना संक्रमितलाई मात्रै अस्पतालमा राखेर उपचार गर्ने भएको छ। कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालमा श्यया अभाव हुन थालेपछि लक्षणसहितका संक्रमितलाई मात्रै अस्पतालमा राख्ने निर्णय सरकारले गरेको हो।

लक्षण नभएका बिरामीलाई आइसोलेसनमा राखिने सरकारका प्रवक्ता सूचना तथा प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए। 'सरकारले अबदेखि कोरोनाका लक्षण देखिएका बिरामीलाई मात्रै अस्पतालमा भर्ना गर्छ भने संक्रमित अन्यलाई आइसोलेसनमा राखेर उपचार गर्छ,' खतिवडाले भने।

कोरोनाका बिरामी राख्न काठमाडौं उपत्यकामा ६ हजार  श्ययाको आइसोलेशन केन्द्र बनाउने तयारी भइरहेको उनले बताए। लक्षण नभएका तथा सामान्य लक्षण भएकाहरु होम आइसोलेसनमा बसेमा त्यसको अनुगमन स्थानीय तहले गर्नु पर्नेछ। 

सरकारले प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पनि जोखिमको मूल्यांकन गरेर आइसोलेसन सेन्टरहरु बनाउन निर्देशन दिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि निजी अस्पताल, मेडिकल कलेज वा प्रतिष्ठानले कोभिड अस्पताल बनाउन सक्ने निर्णय भएको प्रवक्ता खतिवडाले बताए। 

मन्त्रालयले हालै कोभिडका बिरामीका लागि २० प्रतिशत श्यया निजी तथा सामुदायिक अस्पतालले छुट्टाउन निर्देशन दिएको थियो भने मेडिकल कलेजहरुलाई एक तिहाइ श्ययाको आइसोलेसन सेन्टर बनाउन भनेको थियो। मन्त्रिपरिषद्को बैठकले आईसीयू, भेन्टिलेटर र अक्सिजन र त्यसका लागि चाहिने जनशक्तिको प्रबन्ध गर्न पनि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ।

साथै पीसीआर परीक्षणलाई तथा कट्याक्ट ट्रेसिङलाई थप प्रभावकारी बनाइने जानकारी खतिवडाले दिए।

प्रकाशित मिति: : 2020-08-21 19:10:02

प्रतिकृया दिनुहोस्