भास्को डि गामाको घरमा तीजको रौनक (भिडियो) 

करिब ५ सय वर्षअघि एटलान्टिक महासागरको दुई वर्ष लामो यात्रापछि भारतीय महाद्धीपमा आइपुगेका पोर्चुगलका अन्वेषक भास्को डि गामाको देशमा यतिबेला नेपाली नारीहरू रमाइरहेका छन्। 

युरोपको शान्त तथा निकै सुन्दर देश पोर्चुगलमा नेपाली नारीहरू विगत केही दिनदेखि आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्न जुटेका छन्।

उनीहरू नेपाली महिलाको ठूलो चाँड हरितालिका अर्थात तीज धुमधामसँग मनाउन एकै ठाउँमा जुटेका हुन्। 

पोर्चुगलमा हाल ३० हजारको हाराहारीमा नेपालीहरू बसोबास गर्छन। उनीहरू विभिन्न पेशामा संलग्न छन्। युरोपका अन्य देशको तुलनामा यहाँ पिआर पाउन सहज हुने तथा यहाँबा युरोपका अन्य मुलुकमा प्रवेश गर्न सहज पर्ने हुँदा पनि पछिल्लो समय पोर्चुगल सबैका लागि आकर्षणको केन्द्र बनेको छ। 

परिवारसहित पोर्चुगलमा बसोबास गर्ने नेपालीको संख्या पछिल्लो समय पनि राम्रैसँग बढेको छ। र, विगत केही वर्षदेखि नेपाली चाँडपर्वमा भेला हुने र रमाइलो गर्ने चलन पनि बढ्दै गएको छ। 

यसपालि कोरोना महामारीका बीच भेला हुन गाह्रो परेपनि नजिकै रहेका नेपाली चेलीहरू भेटघाट गरेर तीज मनाउन जुटेका हुन्। युरोपको अन्य देशको तुलनामा पोर्चुगलमा कोरोनाको संक्रमण नियन्त्रणमा छ। यहाँको सरकारले समूदायमा कोरोना फैलिन नदिन प्रभावशाली कदम उठाएको थियो। त्यसैले युरोपको प्रख्यात फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलदेखि फाइनलसम्मको खेल पोर्चुगलमै तय भएको हो। 

यसपालिको तीजमा नेपाली चेलीहरूले तीजको एक दिनअघि दर खाने र रमाइलो गर्ने परम्परालाई कायम राखे। २१ अगस्ट शुक्रबार आजको दिन सबै जना तीज मनाउन व्यस्त छन्।

प्रकाशित मिति: : 2020-08-21 13:23:38

प्रतिकृया दिनुहोस्