राष्ट्रिय झण्डा जलाउने र जातीय द्वन्द्व फैलाउनेलाई कारवाही गर: विश्व हिन्दु युवासंघ

विश्व हिन्दु युवासंघले राष्ट्रिय झण्डा जलाउने र जातीय द्वन्द्व फैलाउने गतिविधिमा लागेकालाई कारवाही गर्न माग गरेको छ। 

सोमबार सामाजिक सञ्जाल युट्युवमार्फत् ‘मंगोल हप अफिसियल’ नामक च्यानलले सार्वजनिक गरेको ‘देशद्रोही’ शीर्षकको गीतमा राष्ट्रिय झण्डा जलाएको र जात विशेषलाई गालीगलौज गरेको भन्दै कारवाही गर्न संघले माग गरेको हो। 

संघका अध्यक्ष ऋषिकेशजंग शाहले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त गतिविधिमा संलग्न जो कोहीलाई नेपालको प्रचलित कानुन बमोजिम कारवाहीको दायरामा ल्याउनुपर्ने बताए।

‘अहिलेसम्म नेपालमा जातीय बिषयमा कुनैपनि हिंसात्मक द्धन्द्ध भएको छैन। पछिल्लो समय युट्युवमार्फत् सार्वजनिक भएको गीतले नेपालमा जातीय द्वन्द्व निम्त्याउन सक्छ। त्यस्ता गतिविधिलाई बेलैमा नियन्त्रण गर्न जरुरी छ,’  उनले भनेका छन्। 

राष्ट्रिय झण्ड जलाउने जस्ताे ‘देशद्रोही’ कार्यमा लाग्नेलाई कारवाही नगर्ने हो भने राष्ट्रियता कमजोर हुने पनि शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: : 2020-08-19 09:58:00

प्रतिकृया दिनुहोस्