आर्थिक अनियमितता गरेको आरोपमा सेनाका जर्नेलसहित तीन जना बर्खास्त

नेपाली सेनाका सहायक रथी प्रयोग ज.ब.रा., महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई बर्खास्त गर्ने सैनिक अदालतले निर्णय गरेको छ।

उनीहरूलाई १ करोड ७२ लाख जरीवाना र भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी कारबाही गरिएको नेपाली सेनाले जनाएको छ।

यस्तै सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोज बहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा तथा प्राविधिक सह सेनानी फिरोज महर्जन र जमदार भद्र बहादुर शाहीलाई नसिहत र महा सेनानी राजेन्द्र मणी गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त) लाई सफाई दिने अदालतले फैसला गरेको छ।

पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा "सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर समेत गरेको" अभियोगमा सैनिक ऐन, २०६३ बमोजिम कारबाही गरिएको नेपाली सेनाले जानकारी दिएको छ।

आर्थिक अनियमितता र भ्रष्टाचारको विषयमा शून्य सहनशीलता नीति अनुरुप स्वच्छ संगठन निर्माण एवम् सुदृढिकरणको कार्यमा नेपाली सेना प्रतिवद्ध रहेको भन्दै अदालतले यस्तो निर्णय गरेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बिएल नेपाली सेवालाई जानकारी दिए।

समरी जनरल सैनिक इजलासले निजहरूबाट बीरेन्द्र सैनिक तालिम केन्द्र, काभ्रेको पाँचखालमा कार्यरत रहँदा दुई करोड आसपासको घोटाला ठहर गरेको हो।

छ फिटे जर्नेलको उपमा पाएका राणाले झण्डै तीन महिनाको हिरासतमुक्त हुन करीब दुई करोड बिगो तिरे पनि भविश्यमा कुनै पनि सरकारी जागिरमा  अयोग्य हुनेगरी कारबाहीमा परेका हुन्।

उनलाई शुरुमा झण्डै आठ करोड रूपैयाँ घोटालाको आरोप लागेको थियो । तर,अनुसन्धानको क्रममा दुई करोड रूपैयाँ बराबरको मात्र कागजात फेला परेको बताइएको छ। 

सेनाको राशन पानीको हिसाबकिताब गर्ने अन्य अधिकृत तथा तल्लो दर्जाका कर्मचारीलाई सामान्य कारबाहीको सिफारिश गरिएको हो ।

कोर्ट अफ इन्क्वायरीको चिफमा यतिखेर बुटवलबाट सरुवा भएर आएका दुई तारे जर्नेल निरीक्षणाधिकृत (आइजी) सीताराम खड्का छन्। सैन्य भाषामा कोर्टमार्शलको निर्णयलाई समरी जनरल भनिन्छ। 

यसमा सेनाको कानुन शाखाको समेत प्रतिनिधित्व हुन्छ। आरोपित अधिकृत वा कर्मचारीले पुनरावेदन गरेमा मात्र रक्षा मन्त्रालयको समेत प्रतिनिधि रहने व्यवस्था छ। कोर्ट अफ इन्क्वायरी हुँदै कोर्टमार्शलसम्मको प्रक्रियामा पूर्णतः सेनाको मात्र संलग्नता रहन्छ। 

आरोपितले चाहेमा डिफेन्स लयरको पनि व्यवस्था रहेको बताइन्छ । तर,त्यस्ता लयरहरू सेनाभित्रैका फुली लगाएका कानुन अधिकृतमध्येबाट खटाउने व्यवस्था छ । राणाले पनि डिफेन्स लयर राखेका थिए ।

भावी सेनापतिको रूपमासमेत रहेका राणाको पूर्व सेनापति प्रज्वल समशेर र गौरव समशेरसँग निकै नजिकको नाता सम्बन्ध रहेको बताइन्छ।

प्रकाशित मिति: : 2020-08-16 18:54:32

प्रतिकृया दिनुहोस्