सिन्धुपाल्चोकमा पहिरोले दर्जन घर पुर्‍यो, ठूलो मानवीय क्षतिको आशंका

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ गोल्चे लिदीमा अबिरल वर्षापछिको आएको पहिरोले कम्तिमा एक दर्जन घर पुरिएको छ। पहिरोमा धेरै मानवीय क्षतिसमेत भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।  

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेका अनुसार शुक्रबार बिहान ६ बजेतिर बस्तीमाथिबाट पहिरो खसेको हो। उनले पहिरोले कम्तिमा एक दर्जन घर पुरेको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिए। प्रहरी घटनास्थलतर्फ जाँदै गरेकाले पहिरोको क्षतिबारे यकिन विवरण प्राप्त हुन नसकेको उनले बताए।  

स्थानीयलाई उद्धृत गर्दै उनले पहिरोबाट धेरै जनधनको क्षति भएको अनुमान गरे। स्थानीय ओछ्यानबाट उठेर घरधन्दामा जुटिरहेको समयमा पहिरो खसेको थियो। पहिरोको चाल पाएपछि गाउँमा भागदौड मच्चिएको थियो। भाग्दा भाग्दै केहीलाई पहिरोले पुरेको प्रत्यक्षदर्शीले जनाएका छन्। आंशिक पुरिएका केही भने पहिरो पन्छाएर आफैँ निस्किएका थिए।

घटनापछि उद्दारका लागि इलाका प्रहरी कार्यालय जलवीर र प्रहरी चौकी कात्तिकेबाट टोली पहिरोस्थलतर्फ अघि बढेको डिएसपी काफ्लेले जानकारी दिए। 

यसैबिच पहिरोले घरमा रहेका कति मानिस पुरिए भन्ने यकिन नभए पनि  ठूलो मानवीय क्षति भएको हुनसक्ने वडा अध्यक्ष प्रताप लामाले जानकारी दिए। उनका अनुसार अहिलेसम्म २१ जना पुरिए भन्ने आएको छ।

प्रकाशित मिति: : 2020-08-14 09:26:05

प्रतिकृया दिनुहोस्