रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार दावी गरेको कोरोनाको भ्याक्सिन अबको एक महिनाभित्र बजारमा उपलब्ध हुने रुसको स्वास्थ्य मन्त्रालयले बताएको छ।
रुसी स्वास्थ्य मन्त्री मिखायल मुरासकोले यसको जानकारी दिँदै भनेका छन्, ‘मंगलबार घोषणा भएको भ्याक्सिन रुसमा पहिले उच्च जोखिममा परेका व्यक्तिहरूलाई दिनेछौं। यसमा स्वास्थ्यकर्मी र बृद्धबृद्धा छन्।’
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रुसले जारी गरेको भ्याक्सिनमा विश्वास गर्न नसकिने बताउँदै आएको छ।
उसले भ्याक्सिनको तेस्रो चरणको परीक्षण नगरि सार्वजनिक गरिने औषधिले ठूलो जोखिम निम्त्याउने चेतावनी दिँदै आएको छ।
रुसी राष्ट्रपति पुटिनले आफ्नो देशले निर्माण गरेको भ्याक्सिन सबैभन्दा पहिले आफ्नो छोरीमा प्रयोग गरेको दावी गरेका छन्। उनको दुई छोरीमध्ये कसमा प्रयोग गरिएको त्यो भने गोप्य राखिएको छ।
स्वास्थ्य मन्त्री मिखायलले आउँदो अक्टुबरसम्म कोरोनाको भ्याक्सिन सार्वजनिक भइसक्ने दावी गरेका छन। रुसले रक्षा मन्त्रालय तथा गामालेया राष्ट्रिय सरुवा केन्द्रको सहयोगमा भ्याक्सिन तयार पारेको दावी गरेको थियो। कोरोनाको भ्याक्सिनलाई ‘गाम–कोभिड–भ्याक लियो’ नाम दिइएको छ।