गोंगबुमा आइतबार बिहान सुटकेसभित्र शव भेटिएका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङका अनुसार महानगरीय अपराध महाशाखाको टोलीले पूर्वी चितवनको माधवपुर क्षेत्रबाट कल्पना शाहीलाई पक्राउ गरिएको हो।
उनलाई थप अनुसन्धानका लागि सोमबार साँझ नियन्त्रणमा लिएको हो। उनलाई टोलिले काठमाडौं ल्याउँदैछ।
प्रहरी स्रोतका अनुसार गोंगबुस्थित ती महिला बस्ने घरमा बेलाबेलामा मृतक बोहोरा जाने गरेका थिए। उनका श्रीमान् भने विदेशमा छन्।
शनिबार बिहान गोंगबुमा एउटा सुटकेसमा शव र केहीपर अर्को झोलामा टाउको फेला परेको थियो। पछि प्रहरीले डग स्कुलबाट तालिमप्राप्त कुकुरको सहायता लिई टाउको र खुट्टा ३ सय मिटर पर झोलामा भेट्टाएको थियो।
प्रहरीले सोमबार दिउँसोसम्म शवको सनाखत गर्न सकेको थिएन। हत्या गरिएका बोहराको तस्वीर दिउँसो सार्वजनिक गरेपछि उनको पहिचान खुलेको थियो।
योसँगै आइतबार मात्रै शव रोल्पा स्थायी घर भइ दाङमा बसाई सरेका र अहिले काठमाडौंमा बसोबास गरिरहेका कृष्णबहादुर बोहराको भएको खुलेको हाे।
उनका मामा सम्पर्कमा आएपछि प्रहरीले घटना भएको घर पनि फेला पारेको छ। उनका मामाका अनुसार बोहोरा गोंगबु नयाँ बजार क्षेत्रको गार्मेन्ट उद्योगमा काम गर्थे।