बिहीबार चौध सय नेपाली स्वदेश फर्किए, आज १४ चार्टर्ड उडान हुने

शुक्रबार विभिन्न देशबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी १४ चार्टर्ड उडान हुने भएकाे छ।

कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई फर्काउन विभिन्न एयरलाइन्सले चार्टर्ड उडान गर्न लागेका हुन्।

हिजाे पनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आवागमन र प्रस्थान दुवैगरी १२ अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका थिए।

यी उडानमार्फत एक हजार ४६६ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ।      

नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमामबाट १५४ र दमामबाट दुई उडानमा क्रमशः २५९ र १४४ यात्रु काठमाडौं ल्याएको छ।

यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५४ र कतारको दोहाबाट १५७ यात्रु तथा दुई शव नेपाल ल्याएको छ।

एयर अरेबियाले सारजाहाबाट दुई उडानमार्फत क्रमशः १६८ र १६६ यात्रुको उद्धार गरी काठमाडौँ ल्याएको छ। मालिन्दो एयरले मलेसियाको क्वालालम्पुरबाट १७८, फलाई दुबईले दुबईबाट १६४ र टर्किस एयरलाइन्सले ७६ यात्रु ल्याएको छ।

प्रकाशित मिति: : 2020-08-07 07:27:42

प्रतिकृया दिनुहोस्