अविरल वर्षासँगै घरमाथि ढुंगा खस्दा गुल्मीमा एकै परिवारका चार जनाको मृत्यु भएको छ। जिल्लाको रुरुक्षेत्र गाउँपालिका ५ टाहाटिम आटीपाटामा शुक्रबार राति करिब साढे सात बजे आटीपाटामा घरमाथि ढुंगा खसेर च्याँप्दा उनीहरुकाे मृत्यु भएकाे हाे।
३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर/ ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए।
सबैको शव राति नै स्थानीय र प्रहरी मिलेर निकालेका थिए। घटनास्थलमा इलाका प्रहरी चौकी रिडी र इलाका प्रहरी चौकी जोहाङ्गको टोली परिचालन गरिएको थियो।
सोही स्थानमै अन्य केही घर जोखिममा रहेकाे वडा अध्यक्ष ज्ञवालीले बताए। उनीहरुलाई तत्काल सुरक्षित स्थानमा बस्न आग्रह गरिएको उनले बताए।