प्राचीन रानीकोट गढीँको सिँढी तथा प्रवेशद्वारको निर्माण सम्पन्न

सूर्यविनायक नगरपालिका वडा नं ७ र ८ को सिमानामा पर्ने प्राचीन रानीकोट गढीँको सिँडी तथा प्रवेशद्वारको निर्माण सम्पन्न भएको छ। 

वागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको पर्यटन प्रवद्र्धन आयोजनाअन्तर्गत रु एक करोडको लागतमा निर्माण भएको सिँढी तथा प्रवेशद्वारको सङ्घीय सांसद एवंपूर्वमन्त्री महेश बस्नेत आज उद्घाटन गरेका हुन्।

भक्तपुरको आर्थिक उन्नतिको मेरुदण्डको रुपमा पर्यटन क्षेत्र रहेको बताउँदै सांसद महेश बस्नेतले भने, ‘पर्यटन क्षेत्रको विकास, प्रवद्र्धन, संरक्षण तथा सम्बद्र्धन गर्नु तीनवटै तहका सरकारले विशेष योजनाका साथ अघि बढ्नुपर्छ।’ 

पर्यटन क्षेत्रबाट सरकारलाई आर्थिक वृद्धिदर हासिल गर्नुका साथै हजारौँ युवालाई रोजगारीको अवसर प्रदान गर्ने उनले बताए।

भक्तपुरको पर्यटनको विकासलाई उच्च प्राथमिकताका साथ अगाडि बढाएको बताउँदै उनले भने, ‘डेढ दर्जनभन्दा वढी हिमालको अवलोकन गर्न सकिने तथा उपत्यकाका मनोरम दृश्यावलोकन गर्न सकिने रमणीयस्थलको रुपमा रहेको रानीकोटको विकास तीव्ररुपमा भइरहेको छ।’ 

रानीकोट, घ्याम्पे डाँडालगायत सूर्यविनायक क्षेत्रका विभिन्न पर्यटकीय क्षेत्रमा सूर्यविनायक, जगाती, गुण्डु, बालकोटलगायत क्षेत्रबाट जान मिल्ने गरी चौतर्फीरुपमा सडक निर्माण भएको, करोडौँको लागत होटलको निर्माण भइरहेको, इको भिलेज, बञ्जी जंम्प, प्याराग्लाइडिङदेखि जीप लाइनसम्मको निर्माण कार्य शुभारम्भ भइसकेकाले अबको केही वर्षमै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने सांसद बस्नेत जानकारी दिए। 

रानीकोट भक्तपुरको मात्र नभई मुलुककै पर्यटकीयस्थलको रुपमा परिचित भएको उनको भनाइ छ। कोभिड–१९ को सङ्क्रमणको जोखिमले सुस्ताएको पर्यटनलाई फेरि ब्यूँताएर लैजानु पर्ने उनले बताए।

रानीकोटका विकासका लागि बजेट ल्याउन सफल भएको वाग्मती प्रदेशसभा सदस्य शशीजङ्ग थापाले भन्दैै तीनवटै तहको बजेटले अबको केही वर्षमा भक्तपुरको मुहार फेरिदिने बताए।

प्रकाशित मिति: : 2020-07-31 16:05:42

प्रतिकृया दिनुहोस्