जलविद्युत् आयोजनामा भीषण पहिरो

बिएल संवाददाता

सिन्धुपाल्चोक

नेशनल हाइड्रोपावरद्वारा प्रवर्धित इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा गएको भीषण पहिरोले आयोजनाको उत्पादन ठप्प भएको छ। 

पाँचपोखरी थाङ्पाल–८ तिपेनीमा रहेको ७।५ मेगावाट उत्पादन क्षमता भएको उक्त आयोजनाको बाँधस्थलमा गए राति २ बजेतिर भीषण पहिरो खसेको हो।

पहिरोले आयोजनाको सुरुङ मार्गको मुख्य प्रवेशद्वार, फ्लसिङ सिस्टम (पोखरीबाट बालुवा फाल्ने) तथा पोखरीलाई पूर्णरूपमा क्षति पु¥याउनका साथै तिपेनी बजार तथा पहिरोमाथिको मानव बस्तीसमेत जोखिममा परेको छ। 

निरन्तरको वर्षा तथा पाँचपोखरी पर्यटन मार्गको निर्माण र विस्तारका कारण उक्त क्षेत्रमा यसअघि पनि पहिरो खस्दै आएको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए।
 
पहिरोका कारण सवारी साधन तथा मानिसको आवतजावतसमेत बन्द भएको छ। उक्त स्थानमा वैकल्पिक बाटोसमेत नहुँदा सयौँ मानिस बीचबाटोमै अलपत्र परेका छन्। 

पहिरोका कारण अलपत्र परेका मानिसको उद्धार तथा अवरुद्ध बाटो खुलाउन तत्काल लागि पर्ने  अध्यक्ष लामाको भनाइ छ। 

प्रकाशित मिति: : 2020-07-31 12:22:16

प्रतिकृया दिनुहोस्