सवारी पास दुरुपयोग गर्ने दुई पक्राउ

कैलालीमा सवारी पास दुरुपयोग गर्ने दुई बस चालकलाई बिहीबार साँझ नियन्त्रणमा लिएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका–४ बाट दुई चालकसहित बसलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले अछामको चौरपाटी गाउँपालिका–५ बस्ने गोकुल खड्कासहित ना४ख ९९७२ नंको बस नियन्त्रणमा लिएको जनाएको छ । सवारी पास जाँच गर्दा १३ यात्रु लैजाने अनुमति भएको र उक्त बसले २२ यात्रु बोकेको फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–१० बस्ने भरतसिंह धनाडीलाई महेन्द्रनगरबाट बैतडीतर्फ गइरहेको ना७ख २७२३ नंको बससहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सवारी पासमा १८ यात्रु लैजाने अनुमति दिइएकामा ३२ यात्रु राखेको पाइएकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बससहित चालकलाई सङ्क्रामण रोग ऐन २०२० बमोजिम आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ । रासस

जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

प्रहरीले जबर्जस्ती करणी मुद्दाका फरार रहेका एक अभियुक्तलाई नौ वर्षपछि पक्राउ गरेको छ । २६ वर्षीया महिलालाई जबर्जस्ती करणी गरी फरार रहेका भजनी नगरपालिका–९ का ३४ वर्षीय बिस्ने चौधरीलाई नौ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।

कैलाली जिल्ला अदालतको विसं २०७१ वैशाख १७ गतेको आदेशले चौधरीलाई छ वर्ष कैदको सजाय तोकेको थियो । उनलाई साउन १२ गते पक्राउ गरी १४ गते पुपक्र्षका लागि कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए ।

बाढीमा बगेर बेपत्ता भएका तीनमध्ये एक जनाको शव फेला

यसैबीच भजनी नगरपालिकामा बाढीमा बगेर बेपत्ता भएका तीनमध्ये एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अविरल वर्षापछि बेपत्ता भएका भजनी नगरपालिका–८ जनकपुर गाउँका नौ वर्षीय इजीकेल चौधरीको शव मृतावस्थामा फेला परेको हो ।

बाढीमा बगेर भजनी नगरपालिका–८ बस्ने ३३ वर्षीय चक्रबहादुर विक, काँडाढिकगाउँका ४० वर्षीय ईश्वर शाहको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । उपरीक्षक अुनपशम्सेर जबराले बाढीमा बगेर बेपत्ताको खोजी भइरहेको बताए । बुधवार बेपत्ता भएका टङ्क शाही, हेमन्त शाही, विकी शाह, बलबहादुर चौधरीको सकुशल उद्धार गर्न सफल भएको उनले जानकारी दिए । रासस

प्रकाशित मिति: : 2020-07-31 11:32:16

प्रतिकृया दिनुहोस्