निर्मला प्रकरण: एसपी दिल्लीराज विष्ट र डीएसपी अंगुर जिसीसहित ८ प्रहरीले पाए सफाइ

कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा मुद्दा खेपिरहेका प्रहरीले सफाइ पाएका छन्। 

बिहीवार कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले घटना अनुसन्धान गरेका तत्कालीन कञ्चनपुरका एसपी दिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)बाट गएका डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकीन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदलाई सफाइ दिएको हो।

उनीहरुमाथि पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको मुद्दा लागेको थियो। 

उनीहरु विरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेकोमा उजुरी दिएकी थिइन् भने प्रहरीले अभियुक्त भनी सार्वजनिक गरेका दिलिपसिंह विष्टका तर्फबाट दाजु खड्कसिंह विष्टले यातना दिएको आरोपमा प्रहरीमा उजुरी दिएका थिए।

जिल्ला प्रहरी कार्यालयको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमार्फत् कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

त्यसपछि २०७५ चैतमा डीएसपी अंगुर जिसीले ९ लाख रुपैयाँ धरौटी बुझाइ मुद्दा लडिरहेका थिए। उनलाई यातना सम्बन्धी मुद्दामा ५ लाख र प्रमाण नष्ट गरेको मुद्दामा ४ लाख रुपैयाँ धरौटी माग भएको थियो।

तत्कालीन एसपी दिल्लीराज विष्ट २०७५ चैत ५ गते मात्रै अदालतमा उपस्थित भएका थिए।

विष्टलाई प्रमाण नष्ट गरेकोमा साढे ४ लाख र यातना दिएकोमा ६ लाख गरी कूल साढे १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश न्यायाधीश डा. राजेन्द्र आचार्यको एकल इजलासले दिएको थियो।

यता इन्स्पेक्टर एकीन्द्रबहादुर खड्का र डीएसपी ज्ञानबहादुर सेतीलाई जनही ९ लाख रुपैयाँ धरौटी माग गरेको थियो।

त्यसैगरी, प्रमाण नष्ट गरेको आरोपमा इन्स्पेक्टर जगदीशप्रसाद भट्टलाई ४ लाख, सई हरसिंह धामीलाई ३ लाख ५० हजार,  स्थायी प्रहरी पोस्ट सालघारीका इन्चार्ज सई रामसिंह धामीलाई ३ लाख, जवान चाँदनी साउदलाई २ लाख ५० हजार धरौटी माग गरिएको थियो।

तत्कालीन एसपी विष्ट र घटना भएको वडा प्रहरी कार्यालयका तत्कालीन प्रमुख इन्स्पेक्टर जगदीशप्रसाद भट्टलाई प्रहरीले सेवाबाट हटाइसकेको छ। त्यसपछि अरु सबै प्रहरी निलम्बनमा छन्।

प्रकाशित मिति: : 2020-07-30 16:00:38

प्रतिकृया दिनुहोस्