प्रहरीकै नियतमा प्रश्न उठेपछि १५ केजी नक्कली सुनबारे अनुसन्धान गर्न समिति गठन

अबैध रुपमा भित्र्याएको भन्दै प्रहरीले काठमाडौंबाट बरामद गरेको १५ केजी नक्कली सुन र पेस्तोलको घटना अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा छानविन समिति गठन भएको छ। 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाको नेतृत्वमा छानविन समिति गठन गरेको हो। समितिमा एसएसपी किरण बज्रचार्य, एसपी सोमेन्द्र राठौर, डिएसपी दुर्गा दाहाल र डिएसपी राजकुमार केसी रहेका छन्।

मंगलवार बिहान करिव ९ बजेतिर महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कमलादीबाट  बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कर्पियो गाडीबाट १५ केजी सुन बरामद गरेको जनाएको थियो। जफत भएका मध्ये एक टुक्रा सुन मात्र सक्कली बाँकी सबै नक्कली रहेको पुष्टि भएको हो।

प्रहरीले फलो गरिरहेका एक मानिसले गाडीबाट झोला फ्याँलेर भागेका थिए। झोलामा हेर्दा सुनजस्तै धातु फेला परेको थियो।

महानगरीय प्रहरी परिसरले सुन नक्कली रहेको परीक्षणमा देखिएको जनाएको छ। समितिले गाडी किन समात्न सकिएन? र उनीहरुको को थिए भन्ने विषयमा अनुसन्धान गर्ने छ।

'किन गाडी समात्न सकिएन? प्रहरीको कमजोरी की नियतबस भन्ने विषयमा अनुसन्धान हुन्छ,' कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले भने।

प्रहरीले गाडी कहाँ गयो? यसरी सुन फालेर हिंड्ने को थिए? अनि प्रहरीले गाडी किन फलो गरेन भन्ने प्रश्नको जवाफ दिनसकेको छैन। 

प्रकाशित मिति: : 2020-07-29 14:14:13

प्रतिकृया दिनुहोस्