माइती नेपालको ‘खाना अभियान’ कोहलपुरमा शुरु

माइती नेपालले सञ्चालन गरेको खाना अभियान बाँकेको कोहलपुरमा  शुरु भएको छ। पहिलो पटक नेपालगञ्ज उप–महानगरपालिकामा चलिरहेको अभियान सोमबारदेखि कोहलपुरमा शुरु गरिएको हो ।

 खाना खुवाउने अभियानको  एक कार्यक्रमका बीच कोहलपुरका प्रमुख लुट बहादुर रावतले शुभारम्भ गरे ।  सोमबार कोहलपुरको हवल्दारपुरस्थित माध्यमिक बिद्यालयमा सञ्चालन अभियानको पहिलो दिन प्रमुख रावतले खाना बितरण समेत गरेका थिए ।

उक्त अवसरमा बोल्दै उनले आर्थिक अवस्था कमजोर भएको परिवारलाई अभियानले राहत दिने बताए । उनका अनुसार महिला तथा बालबालिकाहरुको बेचबिखन कार्य नियन्त्रणमा सक्रिय माइती नेपालको यस अभियानले धेरै व्यक्तिलाई सकारात्मक सन्देश प्रवाह गरेको छ ।

पहिलो दिन हवल्दारपुरका दुई सय पाँच जनालाई खाना बितरण गरिएको थियो ।पहिलो पटक गत असार १६ गते शुरु भएको अभियानले हालसम्म सात हजार तीन सय बढीलाई खाना बितरण गरिसकेको छ ।

विद्यमान अवस्थालाई केही सहज बनाउन तथा खासगरी महिला र बालबालिकालाई पौष्टिक एक छाक खानाले उनीहरुको दैनिक जीवनयापनलाई थोरै भएपनि सहयोग पुगोस भनेर अभियान शुरु गरिएको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिए । दैनिक रुपमा बिहानको एक छाक खाना बितरण गरिँदै आएको अभियान अन्तर्गत १४ हजारलाई एक छाक खाना खुवाउने लक्ष्य रहेको उनले बताए ।

प्रकाशित मिति: : 2020-07-27 20:53:50

प्रतिकृया दिनुहोस्