बिहे गरेर अमेरिका लैजाने आश्वासन दिँदै ठगी गर्ने दुई युवती पक्राउ

आफूहरुलाई डिभी परेको र बिहे गरेर अमेरिका लैजाने आश्वासन दिई ठगी गर्ने दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ।

 बाग्लुङ काठे गाउँपालिका २ घर भइ भक्तपुर बस्ने २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसीलाई शुक्रबार पक्राउ गरिएकाे महानगरीय अपराध महाशाखाको टोलीले जनाएकाे छ। 

ठगी गरेर उनीहरू रूपन्देहीको बुटवल एरियामा लुकिछिपी बसेका थिए।  उनीहरूले विभिन्न व्यक्तिहरूलाई फेसबुक, टिकटकमा ‘म तपाईको फ्यान हो’ भन्दै रिक्वेस्ट एसेप्ट गर्न बाध्य बनाएकाे खुलेकाे छ। कुराकानी गर्दै जाँदा बिहे गरेर अमेरिकाको क्यालिफोर्निया लैजान्छु भन्दै करिब ६ लाख ६० हजार ठगी गरेको महाशाखाले जनाएको छ।

महाशाखको प्ररम्भिक अनुसन्धान अनुसार कोपिला शर्माले आफू अमेरिकाको डिभी होल्डर भएको र अहिले लकडाउनका कारण नेपालमा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्दै आएको पिडितलाई बताउने गरेकी थिइन्।

त्यही स्टोर सञ्चालन गर्न पैसाको आवश्यक परेको र पार्टनर बनाउने भनी पटक पटक गरी ५ लाख ठगी गरेकी थिइन्। उनीहरूले त्यसैगरी थप एक लाख ६० हजार समेत ठगेका थिए। 

थप कारबाहीको लागि महाशाखाले महानगरीय प्रहरी वृत्त, ठिमीमा पठाएको छ।
 

प्रकाशित मिति: : 2020-07-26 15:40:51

प्रतिकृया दिनुहोस्