शनिबार राति खसेको पहिरोमा पुरिएका दुई जनामध्ये एक युवकको शव भेटिएको छ। बागलुङ नगरपालिका १ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको थियो।
पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली बेपत्ता भएका थिए। तीमध्ये टयाक्टर चालक रोशनको शव भेटिएको प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिए।
स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ। नेपालीसहित हराएका टिपर चालक निर्मल पुनको खोजी भइरहेको छ।
ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिराले ध१च ४७ नंको ट्र्याक्टर र ग१ख ४६३७ नंको टिपर र स्काभेटर पुरिएको हो।
स्काभेटरको नम्बर खुलेको छैन। पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र टिपर पर्वतका हरि घिमिरेको भएको बताइएको छ।
पहिरोले टयाक्टरलाई कालीगण्डकी नदीमा पुर्याएको थियो। डोजरका अपरेटर भागेर ज्यान बचाएका थिए।
पहिरा गएको केहीबेरमै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो। निरन्तर पहिरो खसिरहेको र जोखिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उद्धारको प्रयास गरिए पनि सम्भव हुनसकेको थिएन। सुरक्षाकर्मीले जेनेरेटरबाट बत्ती बालेर रातभर उद्धारको प्रयास गरेका थिए।