कोरोनाले बेलायतमा थप एक नेपालीको मृत्यु, विदेशमा ज्यान गुमाउनेको संख्या १६१ पुग्यो

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस हप्ता थप एक नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको निधन भएको हो । स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा १६१ नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ ।
 
समितिका अनुसार अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १५० कूल सङ्क्रमितमध्ये २९ हजार २४३ अर्थात् ९३ प्रतिशत भन्दा बढी नेपाली कोरोना सङ्क्रमणमुक्त भएका छन् । गतहप्ता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट सङ्क्रमित नेपालीमध्ये अधिकांश सङ्क्रमणमुक्त भए पनि यस हप्ता त्यहाँ सङ्क्रमणदर केही बढेको छ । यस्तै युएई, कतार, कुवेत र  साउदी अरबमा रहेका नेपालीमा पनि यो हप्ता सङ्क्रमण बढेको समितिले जनाएको छ ।
      
सङ्घका अनुसार  नेपालमा ज्यान गुमाएका ४५ सहित विश्वभर ज्यान गुमाउने नेपालीको सङ्ख्या २०६ पुगेको छ । यसैबीच स्वास्थ्य समितिले सार्वजनिकस्थलमा जाँदा र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड तयार पारेको छ । समितिले सार्वजनिकस्थलमा जाँदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्न समेत सुझाएको छ ।  
 
अलपत्र  नेपालीको उद्धार 

यस हप्तासम्म ३४ हजार ८३० नेपालीको उद्धार गरिएको छ ।  सङ्घ, विदेशस्थित कूटनीतिक नियोग एवं नेपाल सरकारको सहकार्यमा  विभिन्न २५ मुलुकमा कोरोना भाइरसको सङ्क्रमणका कारण प्रभावित नेपालीलाई स्वदेश फर्काइएको हो । यद्यपि यही साउन ८ गते बिहीबारबाट नेपाल सरकारले तत्कालका लागि उद्धार उडान स्थगन गरेको छ ।

आगामी भदौ १ गतेबाट पुनः नियमित उडान हुनेछ । यस्तै मलेशिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरियालगायतका देशबाट यस हप्तासम्म २१६ शव नेपाल पुर्‍याइ परिवारलाई बुझाइएको छ । विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४७४ मध्ये १६५ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै ९४ शव नेपाल ल्याउन बाँकी छ । 

यसैबीच एनआरएनएको कोभिड–१९ उच्चस्तरीय समितिको बैठक शनिबार सम्पन्न भएको छ । एनआरएनएका अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ शुरु भएदेखि समितिले गरेका गतिविधिको समीक्षा गर्नुका साथै आगामी रणनीति तय गरेको छ । उनले कोरोना भाइरसको महामारीमा विश्वभर छरिएका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को निर्वाह गरेको भूमिका महत्वपूर्ण भएको बताए। उनले विदेशमा रहेका नेपाली समुदायले व्यहोर्नुपरेको अप्ठ्यारो र संवेदनशील यस घडीमा मल्हम लगाउने काम भइरहेको जनाउँदै यस कार्यलाई निरन्तरता दिनसमेत आग्रह गरे । 

बैठकमा महासचिव डा हेमराज शर्माले कोरोना भाइरसको महामारीमा ५० देशमा दुई हजार १०० स्वयंसेवक खटिरहेको जानकारी दिए । उनले सङ्घका विभिन्न देशमा स्थापना गरिएका कल सेन्टरमार्फत ८१ हजारभन्दा बढीले परामर्श लिएको बताउनुभयो । बैठकमा स्वास्थ्य समितिका संयोजक डा.सापकोटाले गैरआवासीय नेपालीमा कोरोना प्रभावबाट बच्न र बचाउनका लागि भइरहेका प्रयास र जोखिम बढ्दै गएको पछिल्लो समयमा अपनाउनुपर्ने सावधानीका  बारेमा आफ्नो धारणा राखेको थियो । 
 
बैठकमा बोल्ने वक्ताहरुले कोरोना भाइरसको जोखिम अझै बढेकाले ढुक्क भएर बस्न नहुने र आफूले सावधानी अपनाए मात्रै अरुलाई पनि सङ्क्रमणबाट जोगाउन सकिन्छ भन्ने भावना मनन गर्नुपर्नेमा जोड दिएका थिए । बैठकमा सहभागीहरुले नेपालमा फर्किकाहरुलाई सरकारले होम क्वारेन्टिनमा राख्दा समुदायमा कोरोना फैलिन सक्ने  जोखिम अझै बढेको र आवश्यक सावधानी अपनाउन उनीलाई सचेत बनाउनुपर्नेमा जोड दिए । (रासस) 

प्रकाशित मिति: : 2020-07-26 08:33:55

प्रतिकृया दिनुहोस्