काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीसहित तीन नेता पार्टीबाट निष्कासित

नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र पूर्व राज्यमन्त्री पुष्करनाथ ओझासहित डडेल्धुरा कांग्रेस जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीले अनुशासनले कारबाही गरेको छ।

केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङदम्बेम्बेको अध्यक्षतामा बसेको अनुशासन समितिले कुनै समय कांग्रेसमात्रै नभएर सिंगो देशकै राजनीतिमा बर्चश्व जमाउन सफल भएका पूर्व सहमहामन्त्री जोशीसहित महासमिति सदस्य ओझालाई गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध हराउन सक्रिय भएर लागेको आरोपमा पार्टी विधान बमोजिम पाँच वर्षका लागि निस्कासन गरेको छ।

त्यसैगरी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका पार्टी जिल्ला कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निश्कासन गरेको पार्टी अनुशासन समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पार्टीले गतवर्षको चैतमा गठन गरेको पाँच सदस्यीय अनुशासन समितिले सर्वसम्मतमा मात्रै अनुशासन कारबाहीको निर्णय गर्ने भनि भएको दुई पक्षबीचको सहमति बमोजिम यी तीन नेता, कार्यकर्तामाथि सर्वसम्मत अनुशासनको कारबाही गरेको हो।

पूर्व सहमहामन्त्री जोशीले गत आमनिर्वाचनमा पार्टी नेता रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र नम्बर १ मा विरोध गर्दै उम्मेदवारी दिएका थिए। तर, उनीविरुद्ध लागेको भ्रष्टाचारको मुद्दा उठाएर पौडेलले निर्वाचन आयोगमा दर्ता गरेको दावी विरोधपछि आयोगले उनको उम्मेदवारी रद्द गरिदिएको थियो।

एउटै पार्टीभित्र र एउटै जिल्लावासी पौडेल र जोशीबीच ०४८ सालदेखि यताको समयमा सधैँभरी दुश्मनी रहँदै आएको थियो। तर, गत निर्वाचनमा आफ्नो उम्मेदवारी समेत रद्द गरिदिएपछि जोशीले पौडेलविरुद्ध खुलेरै विपक्षमा मत मागेका थिए। जसको कारण ०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका पौडेल तत्कालिन नेकपा एमालेका सामान्य उम्मेदवार किसान श्रेष्ठसँग झण्डै ६ हजार भन्दा बढी मतले पराजित भएका थिए। त्यसपछि पौडेलले जोशीविरुद्ध अनुशासनको कारबाहीको माग गर्दै आएका थिए।

उता, कैलालीका नेता पुष्करनाथ ओझाले सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाविरुद्ध कैलाली क्षेत्र नम्बर ५ मा अन्तरघात गरी चुनाव हराएको आरोपमा अनुशासनको कारबाही भएको हो। त्यसैगरी देउवाको गृहजिल्लाका पार्टी कार्यालय सचिव विष्टमाथि पनि अन्तरघातको आरोपमा समितिमा उजुरी परेको थियो।

भागवण्डाका आधारमा गठित अनुशासन समितिमा नेता कृष्णप्रसाद सिटौलाको पक्षबाट संलग्न उमाकान्त चौधरीले केही समयअघि जोशीविरुद्ध अनुशासनको कारबाहीबारे घुमाउरो पाराले असहमति जनाउँदै समिति सदस्यबाट राजीनामा दिएको पत्र सिटौलालाई बुझाएका थिए।

तर, आज बसेको अनुशासन समितिको बैठकबाट यी तीन जनामाथि अनुशासनको कारबाही गर्ने निर्णयमा भने चौधरीसहित पाँचै जनाले हस्ताक्षर गरी सर्वसम्मत निर्णय गरेका छन्।

समितिले यसअघि मागेको स्पष्टिकरणमा चित्त नबुझेपछि पुनः उनीहरुविरुद्ध अनुशासनको कारबाही किन नगर्ने भन्दै तीन दिनभित्र थप स्पष्टिकरण दिन भनेको थियो।

त्यसपछि प्राप्त स्पष्टिकरणमा चित्तबुझ्दोे नभएको भन्दै समितिले पार्टी विधानको दफा ३४ को व्यवस्था अनुसार जोशी र ओझालाई पाँच वर्षका लागि र विष्टलाई तीन वर्षका लागि पार्टीबाट निश्कासन गरिएको बताइएको छ।

यसका अतिरिक्त अनुशासन समितिले तीन वर्ष अघि सम्पन्न तीन तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएर पार्टी अनुशासन विपरित गतिविधि गर्नेहरुमाथि परेको उजुरी उपर सबैसँग ०७६ वैशाखमा स्पष्टिकरण माग्दै उनीहरुलाई पार्टी हितमा कार्य गर्न सचेत गराएको बताइएको छ।

प्रकाशित मिति: : 2020-07-25 23:51:37

प्रतिकृया दिनुहोस्