रञ्जन काेइरालाको मुद्दामा सर्वाेच्चले तोक्यो पुनरावलोकनको पेशी, भोलि सुनुवाइ

बिहीबार रिहा भएका पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दाविरुद्ध सरकारले हालेको पुनरावलोकनको पेसी आइतबारका लागि तोकिएको छ  
 
सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकनका लागि परेको निवेदनको सुनुवाइ भोलि हुने भएको हो।

महान्यायाधिवक्ता कार्यालयले कोइरालाको मुद्दामा पुनरावलोकनका लागि निवेदन दिएकोमा आइतबारका लागि पेशी तोकिएको हो। 

जेल सजाय घटाएर कोइरालालाई चाँडो रिहा गर्ने फैसला गरेका कारण प्रधानन्यायाधीश जबरा यतिबेला आलोचनाको केन्द्रमा रहेका छन्। उनीमाथि महाभियोगसम्म लगाउनुपर्ने माग उठ्न थालेपछि जबराले आइतबार नै यसको पेशी तोक्ने तयारी गरेका हुन्।

प्रधानन्यायाधीशसहित २ जना न्यायाधीशले गरेको फैसलाउपर परेको पुनरावलोकन निवेदनमा अब ३ जना न्यायाधीशबाट सुनुवाइ हुने सर्वोच्च अदालत स्रोतले जनाएको छ। संवैधानिक व्यवस्था अनुसार पुनरावलोकनको प्रावधान भएकाले अन्तिम टुंगो नलाग्दासम्म मुद्दा विचाराधीन बनेको छ।

यसअघि सशस्त्र प्रहरीका पूर्वडीआईजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौं जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेका थिए।

प्रकाशित मिति: : 2020-07-25 14:43:14

प्रतिकृया दिनुहोस्