आईतवार काठमाडौं उपत्यकामा थपिए ३ संक्रमित

काठमाडौं उपत्यकामा आईतवार तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु काठमाडौंका एक र ललितपुरका दुई जना रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार आज शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा ललितपुरका दुई र काठमाडौंका एक गरी तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज उपत्यकामा भेटिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकत्सकको निगरानीमा रहेका छन् । भक्तपुरमा भने पछिल्लो २४ घण्टामा कोहि पनि संक्रमित फेला परेका छैनन् ।

यसैबीच नेपालमा आज (आईतवार) थप १५६ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६५८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

प्रकाशित मिति: : 2020-07-19 16:50:17

प्रतिकृया दिनुहोस्