कोरोनाबारे ट्राफिक प्रहरीबीच निबन्ध प्रतियोगिता, इन्सपेक्टर भट्ट पहिलो

महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ र इम्पेरियल बिजनेश कलेजको सहकार्यमा भएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण विषयक निबन्ध प्रतियोगितामा उत्कृष्ठ निबन्ध लेख्ने ट्राफिक प्रहरीहरूलाई पुरस्कृत गरिएको छ।

बन्दाबन्दिको समयमा ट्राफिक प्रहरी २४ सै घण्टा डिउटीमा खट्टिएको भएता पनि खाली समयलाई सदुपयोग गर्न, सिर्जनशील तथा अध्ययनशील बनाउनुका साथै नागरिकहरूलाई कोरोना भाईरसबाट जोगाउन सकिने उपायहरूको चिन्तन मनन गर्नका लागि यस निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो।

उक्त निबन्ध प्रतियोगितामा महानगरीय ट्राफिक प्रहरी वृत्त, महाराञ्जगञ्जका प्रमुख प्रहरी निरिक्षक केशवराज भट्ट प्रथम भएका छन्। उनले प्रथम पुरस्कार बापत ४ हजार रूपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरे। 

यसैगरी दोस्रो प्रनानि शम्भु सुस्केरा, तृतीय प्रज प्रकाश ढकाल, चौथो प्रसनि विष्णु प्रसाद न्यौपाने र पाचौँ प्रसनि गोपाल तामाङले क्रमश: ३,०००, २,०००, १,५०० र १,५०० रूपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेका छन।

उक्त विजेताहरूलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल, इम्पेरियल बिजनेश कलेजका प्रमुख कार्यकारी अधिकृत जिवन लामा गोले, घुन्सा फाउण्डेसनका अध्यक्ष याङ्जोङ् शेर्पा र प्रहरी उपरीक्षक वामदेव गौत्तमले पुरस्कार प्रदान गरेका थिए। 

यो प्रतियोगितामा काठमाडौ उपत्यकामा कार्यरत ५१ जना ट्राफिक प्रहरीहरू सहभागी भएका थिए। निबन्ध प्रतियोगिताका छनोट तथा मूल्याङ्कन सेन्ट जेभियर्सका लेक्चर खेम प्रसाईले गरेका थिए।

विश्वभर फैलिरहेको कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्नका लागि लकडाउन भएसँगै ट्राफिक प्रहरीले आफ्नो ड्यूटीको क्रममा कोरोनाबाट उत्पन्न समस्या, संक्रमणबाट बच्ने उपायहरु, ट्राफिक प्रहरीको कर्तव्य  र नागरीक मैत्री व्यवहार लगायतका विषय समेटी ट्राफिक प्रहरी महाशाखा तथा मातहत कार्यालयका ट्राफिक प्रहरीहरूबीच २०७६ चैत्र २४ गतेदेखि चैत्र २९ गतेसम्म निबन्ध लेखनको लागि समय दिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए।

प्रकाशित मिति: : 2020-07-17 20:27:17

प्रतिकृया दिनुहोस्