जग्गा किन्दा फसेको रकम उठाउन ब्यत्तिको अपहरण गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले रकम उठाउन अपहरण गर्ने ७ जनालाई शुक्रबार भक्तपुरको ठीमीबाट पक्राउ गरेको हो।
प्रहरीले अपहरण गरिएको भनिएका धनुषा घर भई टोखा बस्दै आएका रामबाबु साहलाई समेत उद्धार गरेको छ।
‘कन्ट्रोल रुममा जानकारी आएपछि हामीले अपहरणकारीको खोजी गरेका थियौं। अहिले उद्धार र सात जनालाई नियन्त्रणमा लिएका छौं,’ महाशाखाका एसपी इश्वर कार्कीले भने।
बिहान प्रहरीको १०० मा एक युवकलले फोन गरेर आफ्ना बुबालाई अपहरण गरेर लगेको जानकारी दिएका थिए। त्यसपछि महानगरीय अपराध महाशाखाको टोली परिचालन गरिएको थियो। तीन घण्टा नवित्तै एक घरमा राखिएको अवस्थामा साहलाई फेला पारेको हो। प्रहरीले घरमा रहेका सात जनालाई नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका उनीहरुले अपहरण नभएर लेनदेनको विषय भएकाले ल्याएको प्रहरीमा मौखिक जानकारी दिएका थिए।
‘प्रहरीको प्रारम्भिक अनुसन्धानमा साहले टोखाको ८ आना जग्गा दिने भन्दै उनीहरुसँग २५ लाख रुपैयाँ लिएका थिए। तर लामो समयदेखि पैसा पनि फिर्ता नदिएको र जग्गा पनि नदिएकाले उनीहरले साहलाई आफ्नो घरमा लगेर राखेका थिए। यो लेनदेनको विषयमा भएको देखिएको छ। थप अनुसन्धान भइरहेको छ,’ महाशाखाका एसपी कार्कीले भने।
गत माघ ८ गते साहले २५ लाख रुपैयाँ बैना रकम बाफत लिएका थिए। पक्राउ परेका सात जना सबैको अपहरणमा संलग्न भए नभएको खुलि नसकेकाले अहिले प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन। ‘भर्खर नियन्त्रणमा लिएका छौं। कसको भुमिका के थियो अनुसन्धानपछि खुल्नेछ,’ एसपी कार्कीले भने।