सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ फुल्पिङकट्टीमा बुधबार राति पहिरोमा पुरिएकामध्ये एक जनाको शव फेला परेको छ। पहिरोले बगाएको घरछेउमै शव भेटिएको हो।
नेपाल प्रहरीका ३ नं. प्रदेश प्रहरी प्रमुख डीआईजी वसन्तकुमार लामाका अनुसार ४९ वर्षीया निमा स्याल्बो शेर्पाको शव भेटिएको हो।
अझै ७५ वर्षीय चुङ्बुटी शेर्पा, ३५ वर्षीय साङ्बु शेर्पा र १५ र १४ वर्षीय याङ्जी र फिरिङ्वाङ्मु शेर्पा बेपत्ता रहेका उनले बताए।
गएराति साढे १ बजे खकुन्डोलमाथिबाट आएको पहिरोले दुई घर बगाएकोमा एकै परिवारका पाँच जना बेपत्ता भएका थिए।
बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको छ।